काठमाडौँ । साइबर तथा डिजिटल माध्यमबाट भएका वित्तीय ठगीका घटनाबारे उजुरी र गुनासो तुरुन्तै सम्बोधन गराउन नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणलाई १२४७ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ । यस्ता उजुरीलाई छिटो र प्रभावकारी ढङ्गले सम्बोधन गर्ने उद्देश्यले सो हटलाइन नम्बरको व्यवस्था गरिएको केन्द्रीय बैङ्कको भनाइ छ ।
राष्ट्र बैङ्कका अनुसार प्रहरी प्रधान कार्यालय मातहतको साइबर ब्यूरोमा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको छ । विभिन्न सरोकारवाला निकायको सहभागितामा खोलिएको यो केन्द्र दिनरात नभनी चौबीसै घण्टा सञ्चालन हुने गरेको छ ।
कस्ता विषयमा उजुरी गर्न सकिन्छ ?
अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीका घटनाबारे जानकारी दिन वा उजुरी दर्ता गराउन उक्त नम्बरमा सम्पर्क गर्न सकिने केन्द्रीय बैङ्कले जनाएको छ ।
यस्ता ठगीमा परेको खण्डमा ढिलाइ नगरी १२४७ मा जानकारी गराउन र केन्द्रबाट प्राप्त हुने निर्देशनका आधारमा आवश्यक प्रक्रिया अगाडि बढाउन पनि राष्ट्र बैङ्कले अनुरोध गरेको छ ।
साथै आफ्नो बैङ्क वा वित्तीय संस्था अथवा भुक्तानी सेवा प्रदायकलाई तत्काल खबर गरी बैङ्क खाता र डिजिटल वालेट सुरक्षित राख्न आवश्यक पहल गर्न पनि केन्द्रीय बैङ्कले आग्रह गरेको छ ।







