नेपाल अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले १८औं नाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी केन्द्रमा भदौ ९ देखि १४ गतेसम्म चल्ने यो प्रदर्शनी संस्थाको ५०औं वार्षिकोत्सवसँगै हुन लागेको आयोजकले जनाएको छ।
५० प्रतिशतसम्म अग्रिम टिकट छुट
आयोजकले अग्रिम (अर्ली बर्ड) डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन्। खल्ती एपमार्फत वा खल्तीको आधिकारिक क्यूआर कोड स्क्यान गरेर टिकट किन्नेले यो छुट पाउनेछन्। सामान्य र विद्यार्थी दुवै प्रकारका टिकटमा लागू हुने यो सुविधा सीमित अवधिका लागि मात्र उपलब्ध हुने बताइएको छ।
प्रदर्शनीको नाम 'एचपी लुब्रिकेन्ट्स प्रेजेन्ट्स १८औं नाडा अटो शो २०२६' राखिएको छ। एचपी लुब्रिकेन्ट्स यसको मुख्य प्रायोजक हो।
प्रदर्शनीका आकर्षण
प्रदर्शनीमा विद्युतीय तथा इन्धनबाट चल्ने दुई र चार पांग्रे सवारीसाधन, अटोमोबाइल प्रविधि, स्पेयर पार्ट्स र लुब्रिकेन्ट्स प्रदर्शन गरिनेछ। साथै, वित्तीय तथा बीमा सेवाका बारेमा जानकारी दिने व्यवस्था पनि रहनेछ।
नाडाले अटोमोबाइलप्रेमी, युवा र विद्यार्थीहरूलाई प्रदर्शनीमा सहभागी भई अटोमोबाइल प्रविधिका नवीनतम विकास अवलोकन गर्न तथा संस्थाको पाँच दशक लामो यात्रालाई सँगै मनाउन आग्रह गरेको छ।






