मुख्य सामग्रीमा जानुहोस्

नेपालगञ्जका मिठाइ पसलमा लेबल अनिवार्य, सोमबारभित्र लगाउन निर्देशन

नेपालगञ्ज आसपासका बजारका मिठाइ व्यवसायीलाई लेबल राखेर मात्र बिक्री गर्न निर्देशन दिइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बाँकेले सोमबारसम्मको समय तोकेको छ र लेबल नभेटिए कारबाही गर्ने चेतावनी दिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
नेपालगञ्जका मिठाइ पसलमा लेबल अनिवार्य, सोमबारभित्र लगाउन निर्देशन
Nagariknetwork

नेपालगञ्ज आसपासका बजारमा सञ्चालित मिठाइ पसलले आफ्ना उत्पादनमा लेबल अनिवार्य रूपमा राखेर मात्र बेचविखन गर्नुपर्ने भन्दै व्यवसायीलाई निर्देशन दिइएको छ। खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मिठाइ तथा होटेल व्यवसायीसँगको अन्तरक्रियामा सहभागी अधिकारीहरूले लेबलिङको पालनामा जोड दिएका छन्।

अन्तरक्रियामा व्यवसायीलाई मिठाइको नाम, त्यसमा प्रयोग भएको मुख्य मिश्रण, तेल तथा घिउको प्रकार, उपभोग गर्ने मिति र मूल्यसूची उपभोक्ताले देख्ने गरी राख्न अनुरोध गरिएको छ।

सोमबारभित्र लेबल लगाउनुपर्ने

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बाँकेका प्रमुख सुमन धितालले लेबल लगाउनका लागि जिल्लामा आगामी सोमबारसम्मको समय तय भएको जानकारी दिए। तोकिएको अवधिभित्र लेबल नराखेको भेटिए कारबाही गरिने उनले बताए।

उनले नेपालगञ्जका मिठाइ व्यवसायीले राबडीजस्तै ख्याति कमाउने विश्वास व्यक्त गर्दै लेबलिङको सुरुवात नेपालगञ्जको द केक एण्ड बेकरीबाट भएको जानकारी दिए।

म्याद नाघेका सामग्री भण्डारणमा रोक

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले म्याद नाघेका सामग्री भण्डारण नगर्न व्यवसायीलाई आग्रह गर्दै कैफियत फेला परे कारबाही हुने चेतावनी दिए। मिठाइ पसलमा फोहोर तथा खानेपानीको व्यवस्थापनमा सम्झौता नहुने उनको भनाइ छ र विभागको निर्देशन सबैले पालना गर्नुपर्ने उनले उल्लेख गरे।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घकी उपाध्यक्ष रूपा ओझाले नेपालगञ्जमा दक्ष र अनुभवी मिठाइ व्यवसायी भए पनि काम परम्परागत रहेको बताइन्। लेबल राखेर बेचविखन गर्दा व्यवसायीको प्रतिष्ठा बढ्ने उनको भनाइ छ।

कार्यालयका खाद्य अनुसन्धान अधिकृत रामहरि लामिछानेले व्यवसायीलाई खाद्य स्वच्छता र कानुनी व्यवस्थाबारे जानकारी दिए। अर्का खाद्य अनुसन्धान अधिकृत नेत्रा बोगटीले विगतको तुलनामा मिठाइ पसलमा सुधार देखिए पनि फोहोर व्यवस्थापनमा अझै ध्यान दिन आग्रह गरिन्।

मिठाइ व्यवसायी अतुलकुमार गुप्ताले नेपाल सरकारले तोकेको मापदण्डअनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै यसबाट उपभोक्तासहित सबै पक्ष लाभान्वित हुने बताए।

यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत कात्तिक ११ गतेदेखि लागू हुने गरी उत्पादनमा प्रयोग भएका कच्चा पदार्थलगायतको विवरण उपभोक्ताले देख्ने गरी राख्न सूचना जारी गरेको थियो।