तिहार नजिकिएसँगै काठमाडौंको असन र इन्द्रचोकका ड्राइफ्रुट्स पसलमा भाइमसलाका प्याकेट राखिएका छन्, तर गत वर्षहरूजस्तो भीडभाड भने देखिएको छैन। काजु, बदाम, पिस्ता, अन्जिरलगायतका सामग्रीको मूल्य बढेपछि भाइमसला तथा फलफूलको कारोबार विगतको तुलनामा घटेको व्यवसायीहरूले बताएका छन्।
भन्सार विभागको तथ्यांकअनुसार यसपालि तिहारका लागि ३ अर्ब ६ करोड ७४ लाख रुपैयाँ बराबरको ड्राइफ्रुट्स आयात भएको छ। गत आर्थिक वर्षको यही अवधिमा ३ अर्ब १४ करोड रुपैयाँको ड्राइफ्रुट्स आयात भएको थियो। विभागका अनुसार नरिवल, काजु, बदाम, पिस्ता, अन्जिर र छोकडालगायतका सामग्री आयात भएका हुन्। यीमध्ये धेरैजसो वस्तुको मूल्य १ सय ५० देखि १८ सय रुपैयाँसम्म बढेको छ।
असनमा २८ वर्षदेखि ड्राइफ्रुट्सको व्यवसाय गर्दै आएका 'वीरसिंह स्टोर'का सञ्चालक विदेह तुलाधरले दसैं सकिएलगत्तै पसलमा भाइमसलाका प्याकेट राख्न सुरु गरेको बताए। अघिल्ला वर्षमा १ सयदेखि २ हजार ५ सय रुपैयाँसम्मका प्याकेट बनाइने गरेकोमा यसपालि १ हजार रुपैयाँभित्रैका प्याकेट मात्र बनाइएको उनको भनाइ छ। त्यति हुँदाहुँदै पनि ग्राहकले महँगो भएको गुनासो गर्ने गरेका छन्।
अहिले ४ सय ५० देखि ७ सय ५० रुपैयाँसम्मका भाइमसला प्याकेटको माग रहेको तुलाधरले जानकारी दिए। एउटा प्याकेटमा काजु, बदाम, पिस्ता, अन्जिर, ओखर, छोकडा, नरिवल, मखना र चकलेटलगायत सामग्री राखिन्छ। पछिल्लो समय अनलाइनबाटै खरिदबिक्री बढेकाले पसलमा आउने ग्राहक घटेको उनको अनुभव छ। मूल्य हेरेरै प्याकेट बनाइए पनि ग्राहक अघिल्लो जस्तो नरहेको र तिहारमा भाइमसला मात्रै बेच्ने चलन पनि बढ्दै गएको उनले सुनाए।
सानो प्याकेटतर्फ ग्राहक
इन्द्रचोकस्थित 'उत्तम तिहार मसला' का सञ्चालक मदन शाहले हरेक वर्ष तिहार आउनु २० दिनअघिदेखि भाइमसला, किसमिस, काजु र बदाम बेच्दै आएका छन्। अन्य समयमा सिजनअनुसारका सामान बेच्ने उनले बताए।
यसपालि काजुको मूल्य उल्लेख्य बढेको शाहको भनाइ छ। पहिले प्रतिकिलो १ सय ६०० रुपैयाँ हाराहारीमा पाइने काजु अहिले व्यवसायीलाई नै १ हजार ७ सय ५० देखि १ हजार ८ सय रुपैयाँसम्म पर्ने उनले बताए। बदाम र पिस्तालगायतका सामग्रीको मूल्य पनि बढेको छ। एउटै वस्तुको मूल्य १ सय रुपैयाँभन्दा बढी बढेको उनको भनाइ छ। महँगीकै कारण व्यापार घटेको हुन सक्ने उनले आकलन गरेका छन्।
शाहका अनुसार पसलमा ६० रुपैयाँदेखि ८ सय रुपैयाँसम्मका भाइमसला प्याकेट पाइन्छ। सामग्रीको मूल्य बढेसँगै प्याकेटको साइजअनुसार १० देखि २० रुपैयाँसम्म मूल्य बढाइएको छ। पिस्ता प्रतिकिलो २ हजार २ सय रुपैयाँ पर्नेमा अहिले ४ हजार रुपैयाँ पुगेको व्यवसायी बताउँछन्।
फलफूल कारोबार ३०–४० प्रतिशत घट्ने अनुमान
तिहारमा फलफूलको समेत उच्च खपत हुने गर्छ। तर यसपालि दसैं र तिहारका अघिल्ला वर्षको तुलनामा फलफूलको व्यापार ३० देखि ४० प्रतिशतसम्म घट्ने अनुमान फलफूल थोक व्यवसायी संघ, काठमाडौंका अध्यक्ष अमर बानियाँले गरेका छन्। गत वर्षको तिहारमा फलफूलको कारोबार ३० करोड रुपैयाँको भएकोमा यसपालि करिब २० करोड रुपैयाँमा सीमित हुने उनको आकलन छ।
केराको आपूर्तिका बारेमा बानियाँले चितवनको केरा सकिएको र त्रिवेणीको पनि कम हुँदै गएको जानकारी दिए। अब टीकापुरमा मात्रै केरा बाँकी रहेकाले यसपालिको तिहारमा त्यहीँको केराले माग धान्ने उनले बताए। किसानकहाँ १४ केजीको कार्टुन ७ सयदेखि ८ सय रुपैयाँमा पर्ने केरा काठमाडौं आइपुग्दा १ हजार १ सय रुपैयाँ पर्ने उनको भनाइ छ। अहिले केरा प्रतिदर्जन २ सय रुपैयाँमा बिक्री भइरहेको र तिहारकै दिनमात्रै मूल्य बढ्न सक्ने उनले सुनाए।
स्याउ आयातित तथा मुस्ताङको पर्याप्त मात्रामा उपलब्ध रहेको पनि उनले जानकारी दिए। भारतमा मूल्य बढे नेपालमा पनि त्यसको असर पर्ने उनको भनाइ छ। अहिले खर्बुजा प्रतिकिलो ४० देखि ४५ रुपैयाँ र मेवा १ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। भारतमा मूल्य घट्दै गएकाले नेपालमा पनि घट्ने उनले बताए।







