मुख्य सामग्रीमा जानुहोस्

ठेलाको मम-चाउमिनबाट सुरु व्यवसाय, बुटवलमा ६ करोडको प्रिमियम बेकरी ‘ड्याडिज केक’

मम र चाउमिनको ठेलाबाट व्यवसाय थालेका कमलजंग कुँवरले ६ करोड रुपैयाँ लगानीमा बुटवलमा ‘ड्याडिज केक’ सञ्चालनमा ल्याएका छन्। फ्रेन्च परम्परा र आधुनिक प्रविधि जोडेर प्रिमियम बेकरी उत्पादन गर्ने दाबी गरिएको छ। कम्पनीले एक…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
ठेलाको मम-चाउमिनबाट सुरु व्यवसाय, बुटवलमा ६ करोडको प्रिमियम बेकरी ‘ड्याडिज केक’
Online Khabar

मम र चाउमिनको ठेलाबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका कमलजंग कुँवरले करिब एक दशकमै करिब तीन दर्जन आउटलेटको चेन रेस्टुरेन्ट खडा गरेका छन्। अब उनले बुटवलमा ६ करोड रुपैयाँ लगानी गरी प्रिमियम बेकरी ‘ड्याडिज केक’ सञ्चालनमा ल्याएका छन्।

अर्घाखाँचीमा जन्मिएर हुर्किएका ३७ वर्षीय कुँवरले नेपाली बेकरी उद्योगमा गुणस्तर, प्रविधि र उत्पादनको नयाँ पहिचान दिलाउने उद्देश्यसहित यो व्यवसाय थालेको बताएका छन्। ‘कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशीलताको सम्मान गरौं’ भन्ने नारासहित अघि बढेको ड्याडिज समूहमार्फत उनले यो लगानी गरेका हुन्।

समूहअन्तर्गत यसअघि नै ड्याडिज किचन, ड्याडिज एक्स्प्रेस, ड्याडिज होटल र ड्याडिज हिल्स सञ्चालनमा छन्। अन्य व्यवसायमा सफलता हासिल भएपछि एक वर्षको अध्ययन अनुसन्धान गरेर प्रिमियम बेकरी उत्पादनको तयारी पूरा गरिएको कुँवरले जानकारी दिए।

फ्रेन्च बेकरी परम्पराबाट प्रेरित उत्पादन शैली, आधुनिक इटालियन बेकरी उपकरण, गुणस्तरीय कच्चापदार्थ र दक्ष जनशक्तिको संयोजनमा बुटवलबाट ब्रान्ड यात्रा सुरु गरिएको उनले बताए। एउटै छानामुनि ब्रेड, फ्रेन्च पेस्ट्री, केक, कुकिज र चिज केकलगायत परिकार तथा विशेष कफी र पेय पदार्थ उपलब्ध गराइने उनको भनाइ छ।

गुणस्तरमा सम्झौता नगरेको दाबी

फ्रान्सबाट झिकाइएका नेपाली सेफ नवाङ शेर्पाका अनुसार उत्पादनमा फ्रेन्च बेकरीमा प्रयोग हुने टी ४५ र टी ५५ ग्रेडका पिठोसहित विशेष सामग्री प्रयोग गरिन्छ। बटर चाहिने परिकारमा ननडेरी फ्याट वा मार्जारिनको सट्टा वास्तविक बटरलाई प्राथमिकता दिइएको छ।

‘बेकरी उत्पादनमा वास्तविक र गुणस्तरीय कच्चापदार्थ प्रयोग गर्ने नीति लिइएको छ, अप्राकृतिक रङ, ग्लेजिङ सामग्री र अनावश्यक कृत्रिम सामग्री प्रयोग गर्दैनौं,’ शेर्पाले भने। आर्टिजन ब्रेडलाई प्राथमिकता दिइएको र त्यस्तो ब्रेड २४ घण्टाभित्र खपत हुने गरी उत्पादन गरिने उनले बताए।

अर्का सेफ कर्मा सोनामले उच्च गुणस्तरको उत्पादन बजारमा पाइने अन्य बेकरीसरह प्रतिस्पर्धी मूल्यमै उपभोक्तालाई दिइने बताए। अन्तर्राष्ट्रिय बजारमा विकास भइरहेका नयाँ प्रविधि र ग्राहकको रुचिअनुसार उत्पादन निरन्तर परिमार्जन गर्दै लगिने उनको भनाइ छ।

बेकरी उद्योगमा नेपालमा भएको यो सम्भवतः सबैभन्दा ठूलो लगानी भएको कुँवरको दाबी छ। गुणस्तरीय कच्चापदार्थ, उत्पादन प्रक्रियामा पारदर्शिता र स्वादमा एकरूपता कायम गरी प्रतिस्पर्धी मूल्यमा उच्च गुणस्तरको बेकरी उपलब्ध गराउने उनको प्रतिबद्धता छ। अनावश्यक कृत्रिम सामग्री प्रयोग नगरी खाद्य सुरक्षा, स्वच्छता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिइएको उनले बताए।

एक वर्षभित्र १८ मिनी आउटलेट

कम्पनीले बुटवलबाट सुरु भएको व्यवसायलाई रुपन्देहीका विभिन्न स्थान हुँदै देशका प्रमुख सहरसम्म विस्तार गर्ने योजना बनाएको छ। आगामी एक वर्षभित्र रुपन्देहीमा १८ वटा मिनी आउटलेट खोल्ने लक्ष्य राखिएको छ।

पोखरामा नयाँ आउटलेट तथा संरचना विकासको काम अघि बढिरहेको र काठमाडौंमा पनि विस्तारको तयारी भइरहेको कुँवरले बताए। हाल ६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने आउटलेट विस्तारसँगै ५ सय जनालाई रोजगारी दिने लक्ष्य छ। निकट भविष्यमा चौबिसै घण्टा सञ्चालन हुने गरी बेकरी सेवा सुरु गर्ने योजना पनि कम्पनीको छ।

‘दीर्घकालीन रूपमा उत्पादन, अनुसन्धान तथा विकास, व्यावसायिक तालिम, वितरण र रिटेल नेटवर्क एकीकृत गरी पूर्ण बेकरी इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखिएको छ,’ कुँवरले भने, ‘हामी नेपालमा बेकरीको नयाँ परिभाषा स्थापित गर्ने लक्ष्यसाथ काम गर्छौं।’

ड्याडिज ग्रुपअन्तर्गत अटोमोबाइल, शिक्षा, घरजग्गा तथा मोबाइल र इलेक्ट्रोनिक उपकरण वितरण व्यवसाय पनि सञ्चालनमा छन्। ग्रुपले नयाँ बेकरी परियोजनालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने महत्त्वाकांक्षा राखेको छ। सबै व्यवसायमा गरी ग्रुपमा करोडौं लगानी भइसकेको र व्यवसायबाट भएको नाफा अन्यत्र खर्च तथा लगानी नगरी सोही व्यवसाय विस्तारमा लगाउने नीति लिइएको कुँवरले बताए।

दुई वर्षअघि ‘४० वर्षमुनिका ४० युवा’ मा छनोट भएका कुँवर त्यसयता युवा तथा उद्यमशीलतासम्बन्धी कार्यक्रममा उत्प्रेरक वक्ताका रूपमा निम्त्याइने गरेका छन्।