नेपालमा रासायनिक मलको अभावका कारण सीमावर्ती क्षेत्रका किसानहरू भारतबाट मल ल्याउने क्रममा पक्राउ पर्ने समस्यासँग जुध्न बाध्य भएका छन् । बाराको फेटा गाउँपालिकाका किशोरी साह र भारतीय नागरिक ब्रह्मा साह भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारणबाट युरिया मल लिएर नेपालतर्फ आउँदै गर्दा पक्राउ परेका हुन् ।
भारतीय अधिकारीहरूका अनुसार अदापुर प्रहरी कार्यालयअन्तर्गत औरैया गाउँस्थित चमराहिया पोखरी नजिकबाट उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरू दुईवटा साइकलमा चार बोरा युरिया मल बोकेर नेपालतर्फ आइरहेका थिए । प्रहरीले साइकलसमेत नियन्त्रणमा लिएको छ ।
सर्लाहीका दुई किसान पनि पक्राउ परेका थिए
यो घटनाको केही समयअघि मात्र सर्लाहीका दुई किसान नौ बोरा मलसहित पक्राउ परेका थिए । उनीहरूले भारतीय जेलमा ३८ दिन बिताएपछि रिहा भएका थिए । सीमावर्ती क्षेत्रका किसानहरू भने मल अभावका कारण यस्तो जोखिम मोलेर पनि भारततर्फ जान बाध्य छन् ।
नेपालमा रासायनिक मलको गम्भीर अभाव भएपछि धान रोपाइँको समयमा सीमावर्ती किसानहरू भारतबाट मल भित्र्याउने गरेका छन् । तर भारतीय पक्षले सीमा हुँदै मल ओसार्ने नेपाली किसानहरूलाई निरन्तर नियन्त्रणमा लिँदै आएको छ ।
कसरी भयो पक्राउ ?
भारतीय पक्षका अनुसार युरिया मल नेपालतर्फ लैजाने सूचना प्राप्त भएपछि कृषि अधिकारी र स्थानीय प्रहरीले चमराहिया पोखरी आसपासको निगरानी बढाएका थिए । साइकलमा मलका बोरा बोकेर नेपालतर्फ आउँदै गरेका दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान र कानुनी कारबाही अघि बढिरहेको भारतीय पक्षले जनाएको छ ।
किसानको दोहोरो सास्ती
नेपाल कृषि सहकारी केन्द्रीय महासंघका निर्देशक मिश्रिलाल साहनीले किसानहरू दोहोरो सास्तीमा परेको बताएका छन् । नेपालमा मल पाउन नसक्ने र भारतबाट ल्याउँदा पक्राउ पर्नुपर्ने अवस्थाबारे उनले असन्तुष्टि व्यक्त गरेका छन् । उनले सरकारले समयमै पर्याप्त मलको व्यवस्था गर्नुपर्ने र भारतसँग समन्वय गरेर समस्याको समाधान गर्नुपर्ने मागसमेत गरेका छन् ।






