काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले युनेस्कोको सहयोगमा नेपालका अमूर्त सांस्कृतिक सम्पदाको अभिलेखीकरण र संरक्षण सुदृढ पार्ने उद्देश्यले छदिने सामुदायिक कार्यशाला सुरु गरेको छ।
यो कार्यशाला “नेपालका सातै प्रदेशलाई समेट्ने अमूर्त सांस्कृतिक सम्पदाको सूची निर्माण” कार्यक्रमअन्तर्गत आयोजना गरिएको हो। कार्यशालामा १६ महिला र २४ पुरुषसहित ४० जना सहभागी रहेका छन्, जसमध्ये ३० प्रतिशत युवा छन्। बागमती र गण्डकी प्रदेशका नेवा, तामाङ, चेपाङ, थामी, गुरुङ र सियार आदिवासी समुदायका प्रतिनिधिहरू, नगरपालिकाका अधिकारी तथा मन्त्रालयका प्रतिनिधिहरू कार्यशालामा सहभागी छन्।
तालिमको उद्देश्य
कार्यशालाको उद्घाटन गर्दै मन्त्रालयका सहसचिव सुरेश सुरस श्रेष्ठले अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका लागि नेपालका नीति तथा कानुनी व्यवस्थाबारे प्रकाश पारे। साथै, यस पहलमा युनेस्कोसँग काम गर्ने सरकारको प्रतिबद्धता पनि उनले दोहोर्याए।
यो कार्यशाला सन् २००३ को युनेस्को महासन्धिअनुसार आयोजना गरिने तीन छदिने सामुदायिक कार्यशालामध्ये पहिलो हो। सहभागीहरूलाई सांस्कृतिक अभ्यासको दस्तावेजीकरण र समुदायको नेतृत्वमा सूची निर्माण गर्ने तालिम दिइएको छ। सांस्कृतिक ज्ञान, अभ्यास र परम्परा पुस्तादेखि पुस्तासम्म हस्तान्तरण हुने सुनिश्चित गर्न यस कार्यशालाले विशेष जोड दिएको छ।
युनेस्कोका नेपाल प्रतिनिधि जाको दु ट्वाइटले यस पहलअन्तर्गत सातै प्रदेशका १७ आदिवासी समुदायका कम्तीमा २० अमूर्त सांस्कृतिक सम्पदाको अभिलेखीकरण गर्ने लक्ष्य रहेको बताए।
भक्तपुरमा क्षेत्रीय अभ्यास
व्यावहारिक तालिमका क्रममा सहभागीहरू भक्तपुर पुगेर बाली भित्र्याइसकेपछि मनाइने नेवा पर्व गाथामुगाको अवलोकन र अभिलेखीकरण गरे। वडा नम्बर ९ का प्रतिनिधि र नेवा देय् दबूको सहजीकरणमा भएको यो क्षेत्रीय अभ्यासमा दत्तात्रयस्थित वडा कार्यालयमा स्थानीय सरकारका प्रतिनिधिसँग अन्तरक्रिया पनि गरिएको थियो।
नैतिक दस्तावेजीकरणमा जोड
कार्यशालाले समुदायकै नेतृत्वमा नैतिक दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिएको छ। एकपटकको औपचारिकता मात्र नभई विश्वास र सहभागितामा आधारित निरन्तर प्रक्रियाका रूपमा सहमति लिनुपर्ने महत्त्वबारे पनि छलफल भएको छ।
तालिमबाट प्राप्त सीप र औजार प्रयोग गरेर सहभागीहरूले आफ्ना समुदायका जीवन्त सांस्कृतिक सम्पदाको दस्तावेजीकरण, प्रमाणीकरण, संरक्षण र हस्तान्तरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।


