छठ पर्वका अवसरमा सभामुख डोलप्रसाद (डिपी) अर्यालले आइतबार वीरगन्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागिता जनाएका छन्। श्रद्धा र आस्थाको प्रतीक मानिने यस पर्वमा सभामुख अर्यालले पोखरी परिसरको अवलोकन गर्दै स्थानीय श्रद्धालुहरूसँग भेटघाट गरे।
त्यसपछि उनले वीरगन्ज महानगरपालिका–१६ मा पर्ने नगवा पोखरीको छठ पूजामा पनि सहभागिता जनाएको जनाइएको छ। लोकआस्थाको पर्वका रूपमा मनाइने छठका लागि वीरगन्जका पोखरी, नदी, सरोवर तथा जलाशयका छठघाटहरू सजसज्जाले झकिझकाउ पारिएका छन्।
कोलकाताका कारिगरद्वारा विशेष सजावट
वीरगन्जका ऐतिहासिक घडिअर्वा, लाछुमनवा र ‘स्वीमिङ पुल’ लगायतका छठघाटलाई आकर्षक रूपमा सिँगारिएको छ। घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह कानुका अनुसार घडिअर्वा छठघाटमा भारतको कोलकाताबाट आएका कारिगरहरूले विशेष सजावट गरेका छन्।
उनका अनुसार यसवर्ष घडिअर्वा छठघाटमा ५ हजार ५०० व्रतालु तथा हजारौँ दर्शनार्थी आउने अपेक्षा गरिएको छ।
यसैबीच खरना मनाइसकिएको छ भने आइतबार अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने कार्यक्रम छ। अर्घ्यका लागि तयार पारिएका घाटहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लाग्ने गरेको छ।
२४सै घण्टा प्रहरी परिचालन
पर्वका अवसरमा घडिअर्वासहित अन्य छठघाटमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार छठघाटहरूमा सुरक्षाका लागि २४सै घण्टा प्रहरी परिचालन गरिएको छ।







