मकवानपुर प्रहरीले काठमाडौंको जगन्नाथदेव केन्द्रीय कारागारबाट जेन-जी आन्दोलनको समयमा भागेका एक कैदीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका–११ बडाथाडाका ६० वर्षीय मेक्सो लो रहेका छन् ।
पालुङस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार अपराह्न ५ः२३ बजे उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागुऔषध मुद्दामा सजाय
लो ओपियम तस्करी मुद्दामा दोषी ठहर भइ १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय भुक्तान गरिरहेका थिए । उनी जेन-जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका कैदीहरूमध्ये एक हुन् ।
प्रहरीका अनुसार लोलाई यसअघि लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंले सन् २०२१ फेब्रुअरी १ मा ३ केजी अफिमसहित पक्राउ गरेको थियो ।
पक्राउ र कारागार बुझाइ
मकवानपुर प्रहरीका अनुसार उनलाई थाहा नगरपालिका क्षेत्रबाट पक्राउ गरी थप कारबाहीका लागि जगन्नाथदेव केन्द्रीय कारागार कार्यालयमा बुझाइएको छ ।
मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी माधव काफ्लेले लो पक्राउ परेको पुष्टि गरेका छन् ।






