रुकुमपूर्वको मध्यपहाडी लोकमार्गमा रातिको समयमा सवारी साधन चलाउन रोक लगाइएको छ। लगातार परेको वर्षाका कारण सडकका विभिन्न भागमा पहिरो खस्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले यस्तो निर्णय गरेको हो।
प्रशासनले जारी गरेको सूचनाअनुसार साउन २९ गते राति ९ बजेदेखि साउन ३० गते बिहान ९ बजेसम्म मध्यपहाडी लोकमार्गमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द गरिनेछ। जिल्ला सुरक्षा समितिको बैठकले सम्भावित दुर्घटना र मानवीय क्षति रोक्न रातिको समयमा राजमार्गमा सवारी चलाउन निषेध गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ।
पहिरोका कारण सडक अवरुद्ध
पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत काँडाबगर र धौलापहिरा लगायतका स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। मौसम पूर्वानुमानअनुसार आगामी केही दिनसम्म वर्षा जारी रहने भएकाले सडकमा थप पहिरो खस्ने जोखिम कायमै छ।
सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले भारी वर्षाका कारण मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम रहेको र यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राखी रातिको समयमा आवागमन रोक्ने निर्णय गरिएको बताए।
पहिरो हटाए पनि जोखिम कायम
यसअघि पनि वर्षाका कारण भूमे गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको थियो। सुरक्षाकर्मी, स्थानीय प्रशासन र स्थानीय तहको समन्वयमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि लगातार पानी परिरहँदा सडकमाथिको जमिन कमजोर बनेको छ। प्रशासनका अनुसार जुनसुकै बेला पहिरो खस्न सक्ने अवस्था छ।
विशेषगरी रातको समयमा पहिरो वा ढुंगा खसेको तत्काल पहिचान गर्न कठिन हुने भएकाले सवारी साधन र यात्रुको जोखिम बढ्ने प्रशासनको भनाइ छ। प्रशासनले वर्षाको समयमा अनावश्यक यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भए मौसम तथा सडकको पछिल्लो अवस्था बुझेर मात्र अघि बढ्न सर्वसाधारणलाई आग्रह गरेको छ।
रुकुमपूर्व हुँदै पहाडी तथा हिमाली क्षेत्रका विभिन्न बस्ती जोड्ने प्रमुख सडकका रूपमा मध्यपहाडी लोकमार्ग रहेको छ। वर्षातको समयमा यही सडकमा पहिरो खस्दा यातायात प्रभावित हुँदै आएको छ।






