मुख्य सामग्रीमा जानुहोस्

धवल–दुर्गा सहकार्य दल दर्ता हुनुअघि नै टुट्यो

डा. धवलशमशेर राणा र अभियन्ता दुर्गा प्रसाईंबीचको राजनीतिक सहकार्य दल दर्ता हुनुअघि नै टुटेको छ । अधिकार बाँडफाँट र दर्ताको समयसीमाबारे कुरा नमिल्दा दुवै पक्ष अलग भएका हुन् ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

काठमाडौं, २९ साउन । डा. धवलशमशेर राणा र अभियन्ता दुर्गा प्रसाईंबीचको राजनीतिक सहकार्य निर्वाचन आयोगमा दल दर्ता हुनुअघि नै टुटेको छ । दुवै पक्ष मिलेर जय नेपाल पार्टी गठन गर्ने सहमति भए पनि सो दल दर्ताको चरणमा पुग्न नपाउँदै सहकार्य भत्किएको हो ।

पार्टीमा सभापति राणा र सर्वोच्च नेतामा प्रसाईं हुनेगरी सहमति बनेको थियो । तर, दुवै पक्ष मिलेर निर्वाचन आयोगमा दल दर्ता गर्ने सहमति नजुटेपछि प्रसाईंले छुट्टै पार्टी छिट्टै गठन गर्ने जानकारी गराएका छन् ।

राणा पक्ष आज दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा छ । प्रसाईंले भने कलंकीस्थित शिखर पार्टी प्यालेसमा छुट्टै कार्यक्रम राखेर आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम तय गरेका छन् । प्रसाईं निकट माधव कल्पितले यो जानकारी दिएका हुन् ।

दर्ता मिति र अधिकार बाँडफाँटमा विवाद

नेतृत्वमा अधिकार बाँडफाँट र दल दर्ताको मितिबारे कुरा नमिल्दा सहकार्य टुटेको हो । कल्पितका अनुसार भदौ ५ गते पार्टी दर्ता गर्ने साइत राम्रो भएकाले त्यतिन्जेल पर्खन राणा पक्ष तयार भएन । लघुवित्त र बैंकका पीडितहरू काठमाडौं आइरहेकाले उनीहरूलाई पर्खाएर मात्रै अघि बढ्नुपर्ने प्रसाईं पक्षको भनाइ थियो ।

कल्पितको भनाइमा प्रसाईं पक्षको ध्यान गरिब, निमुखा जनता र नागरिक बचाउनेतर्फ छ । तर, राणा पक्ष आफैं नेता भएर दल दर्ता गर्ने काममा लागेको उनको आरोप छ । राणा पक्षका एक नेताका अनुसार प्रसाईंले निर्वाचनका बेला उम्मेदवारमा हस्ताक्षर गर्न पाउनुपर्ने माग राखेको र सभापतिको सबै अधिकार आफूले लिन खोजेकाले सहमति जुट्न नसकेको हो ।

प्रसाईंको नयाँ पार्टीको अवधारणा

प्रसाईंले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै गरिबीको रेखामुनि रहेका सर्वहारा वर्ग, भुइँमान्छे, उत्पीडित वर्ग, भूमिहीन सुकुम्बासी तथा लघुवित्त, सहकारी, बैंक र मिटरब्याजीहरूको चर्को चक्रवर्ती ब्याजमा परी घरबार गुमाएर सडक र खोला किनारमा बस्न बाध्य नागरिकको जीवनस्तर यथावत् रहेको उल्लेख गरेका छन् ।

कुनै पनि पार्टी ती नागरिकको वास्तविक पार्टी बन्न नसकेको भन्दै उनले अब बन्ने पार्टी सबै नेपाली नागरिक, जातजाति र धर्मको साझा पार्टी हुने बताएका छन् । वैदिक सनातनी हिन्दु अधिराज्यसहितको सो पार्टी पीडित, शोषित, उत्पीडित तथा आम नागरिकको हक, अधिकार र न्यायका लागि समर्पित हुने उनको भनाइ छ ।

नयाँ पार्टीको विधान बनाउन संयोजक तोकिएका कल्पितले दुई दिनअघि विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगमा दल दर्ता गरिने जानकारी दिएका थिए । दल दर्ताअघि नै सहकार्य टुटेपछि प्रसाईं पक्षले छिट्टै छुट्टै पार्टी गठनको तयारी अघि बढाउने देखिएको छ ।