सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपाका खगराज भट्टले नयाँ जिम्मेवारीप्रति खुसी व्यक्त गरेका छन् । तर, यो खुसीको अनुभूतिसँगै जिम्मेवारीबोध र चुनौतीको भारीले आफू थिचिएको उनले बताएका छन् ।
नेकपा एमालेको समर्थनमा २०८३ साउन २९ गते मुख्यमन्त्री पदमा दाबी पेस गरेका भट्टलाई प्रदेश प्रमुख नजिर मियाँले सोही दिन नियुक्त गरेका थिए ।
जिम्मेवारी र चुनौतीको अनुभूति
नियुक्तिपछि दुबोको माला लगाएर पत्रकारहरूसँग प्रतिक्रिया दिने क्रममा उनले सुदूरपश्चिमका २७ लाख जनताको नेतृत्व गर्ने अवसर पाउँदा आफू खुसी भएको बताए । उनले भने, “म खुसी नै छु । खुसीभन्दा बढी जिम्मेवारीबोध र अलि बढी चुनौतीको भारीले म थिचिएको अनुभव पनि सँगसँगै गरेको छु ।”
जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता
भट्टले सुदूरपश्चिमेली जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिक्रिया दिएका छन् । आफूबाट जादुजस्तो काम सम्भव नभए पनि जे गर्ने हो त्यो राम्रो गर्ने र जनताले महसुस गर्न सक्ने गरी काम गर्ने उनको भनाइ छ । “धेरै चमत्कार त सम्भव हुँदैन, जे गर्नेछु राम्रो गर्नेछु । र मान्छेलाई राम्रो गर्यो भन्ने अनुभूति दिलाउन प्रयास गर्नेछु,” उनले भने ।






