साउन २९, नारायणगढ (चितवन) । भरतपुरको बस्ती वरपर बच्चासहित चितुवा देखा पर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्। निकुञ्जभित्र बाघको संख्या बढी हुँदा चितुवाले आफ्नो छुट्टै क्षेत्र बनाउन नसकेर मानवबस्तीमा प्रवेश गर्ने गरेको बताइएको छ।
बाघको दबाबका कारण बस्तीतिर
बस्तीमा देखिएको चितुवाबारे राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक तीर्थ लामाले बच्चासँग रहेकाले बच्चालाई सुरक्षित राख्न बस्ती छिरेको हुनसक्ने बताए। पोथी चितुवाले आफ्ना सन्तानलाई बाघबाट मात्र नभई भाले चितुवाबाट समेत जोगाउनुपर्ने हुन्छ। भाले चितुवाले अर्काको वा आफ्नै बच्चा भेटेमा मारिदिने खतरा रहने उनको भनाइ छ।
नियन्त्रणमा लिइएको चितुवा करिब नौ महिनाको छ। अर्को माउ चितुवा बच्चासहित बस्तीमै रहेको हुनसक्ने प्राविधिक लामाको भनाइ छ। उनका अनुसार चितुवा दुईदेखि तीन वर्षमा वयस्क हुन्छन् र बच्चालाई एकदेखि दुई वर्षभित्र माउले छाड्ने गर्छ। त्यसपछि ती चितुवाहरूले आफ्नो छुट्टै क्षेत्र बनाएर बस्ने गरेको पाइन्छ। बच्चा हुर्काएपछि चितुवा एउटै स्थानमा नबस्ने र यिनको सरदर आयु १० वर्षको हुने उनले बताए।
नियन्त्रणका लागि ड्रोन, खोर र लेग ट्रयाप
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार चितुवा नियन्त्रणका लागि दिउँसो ड्रोन उडान, सिसी क्यामेरा जडान, खोर (केज) ट्रयापिङ र लेग ट्रयाप प्रयोग भइरहेको छ। सोही क्रममा अविनाश पोल्ट्री फार्मको झाडीबाट एउटा बच्चा चितुवालाई नियन्त्रणमा लिएर राष्ट्रिय प्रकृति संरक्षण कोषको जिम्मेवारीमा पठाइएको छ।
माउ चितुवा भने अर्को बच्चासँगै बस्तीमै घुमिरहेको बताइएको छ। चितुवा रुख चढ्ने भएकाले समाउन कठिन भइरहेको प्राविधिक लामाले बताए। यो जनावर प्रायः गाउँघर र बस्ती वरपरका सामुदायिक वनमा बस्दै कुकुरलगायत जनावरको सिकार गर्ने गर्छ।
बस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिन र स्थानीयवासीलाई सुरक्षित राख्न सबै प्रयास जारी राखिएको डिभिजन वन कार्यालयले जनाएको छ।

