एक महिना भइसक्दा पनि मेची राजमार्गको राजदुवाली खण्ड आवागमनका लागि खुल्न सकेको छैन । सडक भासिएपछि कतैबाट पानी चुहिएको छ भने कतै लच्किएको अवस्था देखिएको छ । यसले गर्दा इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दाले दैनिक यात्रामा मात्र नभई आधारभूत उपभोग्य सामानको आपूर्तिमा समेत कठिनाइ भोग्नुपरेको छ ।
सडक लामो समय अवरुद्ध हुँदा खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको हो । राजदुवाली नजिकैका सुरक्षाकर्मीले यात्रुलाई सहजीकरण गर्नुका साथै बिरामीलाई बोकेर बाटो कटाउनुपर्ने अवस्था रहेको बताएका छन् ।
यही क्षेत्रको माईखोलामा अहिले पानीको बहाव तीव्र छ । जलविद्युत् आयोजनाले पानी लैजाने हुँदा हिउँदमा सुख्खा देखिने यो खोला वर्षा लागेसँगै उर्लिने गर्छ । राजमार्गको पुलनजिकै एस्काभेटर र मजदुरहरू बिहानैदेखि काममा खटिएको देखिन्छ । चर्को गर्मीका बीच गरुङ्गो झोला बोकेर उकालो–ओरालो गरिरहेका यात्रुको भने अर्कै कठिनाइ छ ।
राजदुवाली नजिकै लामो समयदेखि व्यवसाय गर्दै आएका विक्रम लामाले पछिल्लो दुई वर्ष यो सडकले निकै दुःख दिएको बताए ।
पोहोर र यसपालि यो बाटोले साह्रै दुःख दियो । पानी पर्ने र घाम चर्किने क्रम चलिरहँदा सिमलगोलाइको बाटो मर्मत नगरिएसम्म आउने–जानेको लर्को हुन्थ्यो । पानी पर्नासाथ त्यहाँको डाइभर्सन बिग्रिन्छ । यो सडकको भविष्यबारे चिन्ता लागेको छ ।
स्थानीय चन्द्रबहादुर भण्डारीले भने यो क्षेत्रमा पहिले यस्तो समस्या नरहेको बताए । उनका अनुसार सडकमा पछिल्लो तीन वर्षदेखि मात्रै ठूलो समस्या देखिन थालेको हो ।
हामीले थाहा पाउँदादेखि यहाँ समस्या थिएन । तीन वर्ष भयो निकै दुःख देखियो । हाइड्रोको सुरुङबाट पानी छिरेको भन्ने सुनिन्छ, तर के हो भन्ने यकिन छैन ।
विगतमा सानातिना समस्या आए पनि मेचे राजमार्ग यति लामो समय अवरुद्ध भएको थिएन । २०८१ सालमा तीन दिन र २०८२ असोजमा १४ दिन सडक बन्द भएको इतिहास छ । यसपटक भने एक महिनादेखि सवारी साधन गुड्न सकेका छैनन् ।
एक हप्ताभित्र साना गाडी चलाउने लक्ष्य
सडक सुचारु गर्न सडक डिभिजन कार्यालय इलामले दिनरात काम गरिरहेको जनाएको छ । डिभिजन प्रमुख पवन भट्टराईका अनुसार अवस्था सामान्य रहे एक हप्ताभित्र साना गाडी सञ्चालन गर्न सकिने सम्भावना छ ।
हामी दीर्घकालीन समस्या समाधानका लागि दिनरात खटिरहेका छौँ । अवस्था सामान्य भए सात दिनमै साना गाडी चलाउने गरी तयारी छ । ठूला गाडी चल्न भने केही समय लाग्छ ।
सडकका धेरै स्थानबाट पानी निस्किएर समस्या भएको उनले बताए । पानी व्यवस्थापनका लागि नौ वटा इनार निर्माण गरिने र बायोइन्जिनियरिङको काम अगाडि बढाइने भट्टराईको भनाइ छ । टेवा पर्खाल, ग्याबिन स्विप वाल र आरसीसी वाल निर्माणका कामहरू पनि भइरहेका छन् । उनका अनुसार दाउन्ने र लमजुङमा यी प्रविधि सफल भइसकेका छन् । राजदुवाली खण्ड स्तरोन्नतिका लागि करिब दुई करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
विकल्प पनि भरपर्दो भएन
राजमार्ग अवरुद्ध भएपछि सिमलगोलाइ–तिलकेनी र कञ्चनजङ्घा–केचन सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ । तर यी सडक कच्ची हुनुका साथै बाटोमा पर्ने खोलाहरूमा पुल नहुँदा बाढी आउनासाथ डाइभर्सन बग्ने समस्या छ ।
सिमलगोलाइ–तिलकेनी खण्डको १२ किलोमिटर सडक स्तरोन्नति गर्न सरकारले ४५ लाख रुपैयाँ बजेट दिएको थियो । तर त्यसबाट ग्राबेल मर्मतसम्भार मात्र गरिएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।
जोगमाई खोलामा गत वर्षको बाढीले बेलिब्रिज बगाएपछि डाइभर्सन बनाइएको छ । खोलामा बाढी आएका बेला डाइभर्सन भत्किने भएकाले यस वर्षायाममा धेरैपटक मर्मत गर्नुपरेको छ । कञ्चनजङ्घा–केचन सडकखण्डको पुवा खोलामा पुल छैन । बेलासेमा भासिएको पुलमा बेलिब्रिज जडान गरिए पनि पुवामा डाइभर्सनकै भर पर्नुपर्ने अवस्था छ ।
इलाम सदरमुकामबाट झापा जाने छोटो मार्गका रूपमा रहेको यो सडकको नौ किलोमिटर खण्ड कालोपत्रे गर्न खड्का कृष्ण, सक्षम जेभीले ठेक्का पाए पनि समयमै काम सकिएको छैन । पाँच वर्षअघि नै ठेक्का लागे पनि काम अधुरो छ । ठेकेदारले राम्रोसँग काम नगर्दा बर्खाको समयमा सडक लथालिङ्ग हुने गरेको स्थानीय बताउँछन् ।
भारतबाट बेलिब्रिज सामग्री नआउँदा थप समस्या
पुवा र जोगमाई खोलामा भारतीय सहयोगमा बेलिब्रिज जडान गर्ने योजना बने पनि काम सुरु हुन सकेको छैन । भारतले पुवाखोलाका लागि सात ट्रक सामग्री पठाए पनि करिब १० ट्रक सामग्री अझै आउन बाँकी रहेको बताइएको छ । सामग्री आएपछि भारतबाट प्राविधिक आएर जडान गर्ने भनिएको थियो । जोगमाई खोलाका लागि भने बेलिब्रिजको सामग्रीसमेत नआएको बताइएको छ ।
बेलासेस्थित माईखोलामा पक्की पुल निर्माणका लागि भने ठेक्का प्रक्रिया अघि बढाइएको छ । २३ करोड ९४ लाख रुपैयाँमा ठेक्का खुलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । तर यी सबै कामले समय लिने भएकाले अहिलेलाई पूर्वी पहाडी जिल्लाका बासिन्दाले अझै केही समय सास्ती खेप्नुपर्ने देखिन्छ ।






