काठमाडौंमा भारतीय राजदूतावासले शनिबार भारतको ८०औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाएको छ। नेपालमा रहेका भारतीय समुदायका सदस्य तथा भारतका मित्रहरूको सहभागितामा आयोजित समारोह वन्दे मातरम् गायनबाट सुरु भएको थियो।
समारोहमा भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा फहराएका थिए। झण्डा फहराएपछि राष्ट्रिय गान प्रस्तुत गरियो। सहभागीहरूले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन पनि अवलोकन गरे।
दिवंगत सैनिकका परिवारलाई एजीआईएफ चेक
सोही अवसरमा राजदूतले भारतीय सशस्त्र सेनाका दिवंगत ११ सैनिकका विधवा तथा आफन्तजनलाई सम्मान गर्दै आर्मी ग्रुप इन्स्योरेन्स फन्ड (एजीआईएफ) अन्तर्गत कुल रु ८ करोड २० लाख बराबरका चेक हस्तान्तरण गरे।
प्रतियोगिता र विजेतालाई सम्मान
स्वतन्त्रता दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरूलाई पनि राजदूतावासले सम्मान गरेको थियो। “विकसित भारत” चित्रकला प्रतियोगिता, विकसित भारत दौड, अन्तरविद्यालय क्विज प्रतियोगिता तथा भारत को जानिये क्विजको विशेष संस्करणका विजेताहरूलाई पुरस्कृत गरिएको हो।
शैक्षिक अनुदान र सांस्कृतिक प्रस्तुति
शैक्षिक स्रोतमा पहुँच सुधार्न राजदूतावासले नेपालका सात प्रदेशका २२ शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान उपलब्ध गराउने घोषणा गरेको छ।
कार्यक्रममा राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति र देशभक्तिपूर्ण गीत प्रस्तुत गरे। राजदूतावासका कर्मचारी, उनीहरूका परिवार तथा भारतीय समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।






