नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित थानाभञ्ज्याङमा शनिबार दुप्पेश्वर महादेव मन्दिर जाँदै गरेका तीर्थयात्री चढेको बस भिरालोमा खस्दा दुई जनाको मृत्यु भएको छ। सो दुर्घटनामा तीन जना घाइते भएका छन्।
दुर्घटनाको विवरण
टोखा–छहरे सडकखण्डमा पार्किङ गरिएको बस चालक र यात्रुहरू खानपानका लागि रोकिएका बेला अचानक आफैँ चल्न थालेको प्रहरीले जनाएको छ। बसले पार्किङ गरिएको विद्युतीय भ्यानलाई ठक्कर दिएपछि दुवै सवारी करिब ५० मिटर तल खसेका हुन्।
मृतक र घाइते
दुर्घटनामा काभ्रेको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापति (डंगोल) र रामेछापको खाँडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको छ। काठमाडौंको अस्पताल लगिएलगत्तै दुवैको मृत्यु भएको प्रहरीले बताएको छ।
यस्तै, सर्लाहीको लालबन्दी नगरपालिका–९ की २५ वर्षीया सुजाता पोखरेल, काभ्रेको बनेपा–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ की ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौं लगिएको छ।
प्रहरी अनुसन्धान
दुर्घटनामा संलग्न बसको नम्बर बा प्र ०८–००१ ख ००५२ र विद्युतीय भ्यानको नम्बर बा प्र ०३–००१ ज ११७६ रहेको छ।
प्रहरीले बस चालक काभ्रेको पाँचखाल नगरपालिका–७ का सिताराम आचार्यलाई नियन्त्रणमा लिएको छ। अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाइएको छ।






