काठमाडौं — श्रीजना राणा जोन्टा इन्टरनेसनलको सञ्चालक समितिमा सन् २०२६–२८ द्विवार्षिकका लागि निर्वाचित भएकी छन्। क्यानडाको भ्यानकुभरमा सम्पन्न ६७औँ जोन्टा इन्टरनेसनल सम्मेलनमा उनी सञ्चालक समितिका लागि चुनिएकी हुन्। यससँगै उनी जोन्टा इन्टरनेसनलजस्तो विश्वव्यापी संस्थाको निर्णायक निकायमा पुग्ने पहिलो नेपाली बनेकी छन्।
जोन्टा इन्टरनेसनलले महिलाको अधिकार, समानता र नेतृत्वलाई सेवा, वकालत तथा शिक्षामार्फत अघि बढाउने उद्देश्यमा काम गर्दै आएको छ। राणा नेपालको पर्यटन तथा नागरिक क्षेत्रकी एक अगुवा हुन्। उनी होटल एसोसिएसन अफ नेपालकी पूर्वअध्यक्षसमेत हुन्। महिला सशक्तीकरण र सामाजिक अधिकारका पक्षमा उनले विभिन्न पहलमा सक्रिय सहभागिता जनाउँदै आएकी छन्।
जोन्टा क्लब काठमाडौंलाई प्रतिष्ठित अवार्ड
यसै क्रममा जोन्टा क्लब काठमाडौंले लगातार दोस्रो द्विवार्षिक 'जोन्टा एक्सिलेन्स इन सर्भिस एन्ड एडभोकेसी' अवार्ड प्राप्त गरेको छ। प्रत्येक द्विवार्षिकमा विश्वभरका केवल छ वटा क्लबलाई मात्र यो अवार्ड दिइने गरिन्छ।
महिला तथा बालिकाविरुद्धको हिंसा रोकथाम र त्यसको प्रतिकार्यका लागि काठमाडौं क्लबले गरेको कामको उच्च मूल्यांकन गर्दै यो अवार्ड प्रदान गरिएको हो। प्रहरी निकाय, नेपाल प्रहरीको साइबर ब्युरो, कानुन व्यवसायी, स्थानीय सरकार, नागरिक समाज र शैक्षिक संस्थाहरूसँगको सहकार्यमा क्लबले अनलाइन तथा अफलाइन दुवै माध्यमबाट हुने हिंसाविरुद्धका काम गर्दै आएको छ।
राणाको भनाइ
निर्वाचनपछि राणाले यो आफ्ना लागि सम्मान र जिम्मेवारी दुवै भएको बताएकी छन्। “यो अत्यन्तै नम्र बनाउने सम्मान हो र सबैभन्दा माथि जोन्टा इन्टरनेसनलमार्फत विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्नुपर्ने जिम्मेवारी हो,” उनले भनिन्।
उनले आफ्नो उपलब्धिले युवा महिलालाई नेतृत्व भूमिका अँगाल्न प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरिन्।





