मुख्य सामग्रीमा जानुहोस्

कोशीमा पुरानै नेतृत्वमा नयाँ गठबन्धन : कार्की नै मुख्यमन्त्री, नेकपाका पाँच सांसद शपथ

कोशी प्रदेशमा नयाँ गठबन्धनको सरकार गठन भएको छ । नेकपाका पाँच सांसद सरकारमा सहभागी भएका छन् । कार्की पुनः मुख्यमन्त्री कायम छन् ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

कोशी प्रदेशमा नयाँ गठबन्धनको सरकार गठन भएको छ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच तीन बुँदे सहमति भएको २३ दिनपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै नेतृत्वमा नयाँ सत्ता समीकरण बनेको हो । नेकपाका तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री सोमबार अपराह्न शपथ ग्रहण गरेसँगै सरकार विस्तार भएको छ ।

यसअघि एमाले–कांग्रेस गठबन्धनमा पनि कार्की नै मुख्यमन्त्री थिए । तीन बुँदे सहमतिपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने प्रयास गरेका थिए । तर कार्कीलाई हटाउने प्रयास सफल नभएपछि ओली पछि हटेका थिए । कार्कीकै निरन्तरता सुनिश्चित भएपछि मात्र नेकपा सरकारमा सहभागी भएको हो ।

नेकपाबाट पाँच सांसद सरकारमा

नयाँ समीकरणमा नेकपाले चार मन्त्री र एक राज्यमन्त्री पाएको छ । नेकपाभित्र पूर्वनेकपा माओवादी केन्द्र पक्षलाई तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी समूहलाई एक मन्त्रीको जिम्मेवारी परेको छ । नेकपाबाट सरकारमा सहभागी पाँच जनामध्ये तीन जना महिला छन् ।

इलामबाट निर्वाचित खिनु लङ्वा लिम्बू पर्यटन, वन तथा वातावरणमन्त्री बनेकी छन् । पूर्वएकीकृत समाजवादी पार्टीतर्फबाट मन्त्री बनेकी उनले प्रदेश सरकारमा नेकपाको नेतृत्व सम्हालेकी छिन् । लगातार दोस्रोपटक प्रदेशसभामा निर्वाचित उनी प्रदेशकी एक मात्र लगातार दोस्रोपटक निर्वाचित महिला सांसद हुन् । पहिलो कार्यकालमा उनी संस्कृति तथा पर्यटनमन्त्री बनेकी थिइन् ।

सोलुखुम्बुबाट निर्वाचित गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । प्रदेशसभामा गीत र कविताको शैलीमा सत्तापक्षलाई प्रश्न गर्दै आएका शेर्पा हिमाली क्षेत्रबाट निर्वाचित एक मात्र शेर्पा सांसद हुन् ।

मोरङकी समानुपातिक सांसद गीता तिम्सिना सामाजिक विकासमन्त्री नियुक्त भएकी छन् । २०७४ मा प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार बने पनि पराजित भएकी उनी २०७९ मा समानुपातिक सूचीबाट सांसद बनेकी थिइन् । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले उनलाई दलको प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । पूर्वसभामुख बाबुराम गौतमलाई पछि पार्दै उनले सामाजिक विकास मन्त्रालय पाएकी हुन् ।

मोरङ–६ (क) बाट निर्वाचित जीवन आचार्य भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ आचार्य यसअघि दुई पटक मन्त्री भइसकेका छन् । २०७९ पुस २९ मा कार्की नेतृत्वको पहिलो सरकारमा पर्यटन, वन तथा वातावरणमन्त्री बनेका उनी २०८० असार २४ मा कांग्रेस नेता उद्धव थापा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । यो पटक भने उनले प्रभावशाली मानिने भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

सुनसरीकी समानुपातिक सांसद सपना परियार भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी छन् ।

मन्त्रालय हेरफेर

नेकपा सरकारमा सहभागी भएसँगै एमालेका तर्फबाट सरकारमा रहेका दुई मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । पहिले कांग्रेस सहभागी सरकारमा भौतिक पूर्वाधार, वन तथा पर्यटन, स्वास्थ्य र कृषि मन्त्रालय कांग्रेसले सम्हालेको थियो । नयाँ सत्ता समीकरणपछि नेकपाले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित चार मन्त्रालय दाबी गरेको थियो । एमालेले नेकपालाई फकाउन आफ्नै नेतृत्वमा रहेका सामाजिक विकास र आन्तरिक मामिला तथा कानुन मन्त्रालय दिएको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्री बनाइएको छ भने सामाजिक विकासमन्त्री रामप्रसाद मेहता उद्योग, कृषि तथा सहकारीमन्त्री भएका छन् । आन्तरिक मामिला राज्यमन्त्री उमाकान्त गौतम स्वास्थ्य राज्यमन्त्री बनेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत् छ ।

कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा सोमबारको मन्त्रिमण्डल विस्तार १९औँ हो ।