काठमाडौँ — सर्वोच्च अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ हिरासतबाट रिहा भएका छन्। हिरासतबाट बाहिरिएलगत्तै पत्रकारहरूसँग कुरा गर्दै उनले आफूमाथि राज्यले बदला लिन खोजेको र प्रेस स्वतन्त्रतामाथि प्रहार गरिएको बताए।
उनले आफूमाथिको यो कारबाही व्यक्तिगत प्रतिस्पर्धा वा दुश्मनीमा आधारित नभएको बताए। पेसागत कर्तव्य निर्वाह गर्ने क्रममा न्यायका लागि लड्नुपरेको उनको भनाइ छ। उनले सत्तापक्षका त्रुटि उजागर गरेकै कारण सजाय भोग्नुपरेको दाबी गरे।
राज्यको बदला र प्रेस स्वतन्त्रतामाथिको प्रहार
राज्यले विभिन्न समयमा ट्रेड युनियन, विद्यार्थी संगठन, कर्मचारी, न्यायालय र मिडियालाई गिजोल्दै आएको भन्दै श्रेष्ठले नयाँ सरकारले कानुनी प्रक्रिया अपनाएरभन्दा पनि ‘हुकुमी शैली’मा विरोधीको आवाज बन्द गर्न खोजेको आरोप लगाए। जनआस्थामा प्रकाशित समाचारमा गल्ती भए खण्डन गर्ने बाटो, प्रेस काउन्सिल र अदालत रहेको उनले बताए। तर, राज्य ती प्रक्रियामा नगई पात्र खडा गरेर मिडिया सिध्याउने उद्यममा लागेको उनको गुनासो छ।
‘मैले लेखेको कुरा के गलत साबित भयो ?’ भन्ने प्रश्न पनि उनले राखे। आफूविरुद्धको कारबाही न्यायोचित नभएको उनको बुझाइ छ।
जङ्गलीतन्त्रमाथि ब्रेक
सर्वोच्च अदालतले हस्तक्षेप नगरेको भए भोलिपल्टदेखि नै विपक्षी मिडियाका क्यामेरा, ल्यापटप र छापाखाना जफत हुने र पत्रकारहरूले जेल भरिने अवस्था आउने श्रेष्ठको दाबी छ। अदालतको आदेशले त्यस्तो प्रवृत्ति अर्थात् ‘जङ्गलीतन्त्र’माथि ब्रेक लगाएको उनले बताए।
उनका अनुसार सरकारले पात्र खोज्ने, पात्र उभ्याउने र जनआस्थाविरुद्ध प्रयोग गर्ने काम गर्दै आएको छ। सामाजिक रूपमा दागिएका, आफैं मुछिएका र सामाजिक सञ्जालमा रमाउने व्यक्तिहरूलाई उभ्याएर आफूविरुद्ध प्रयोग गर्न खोजिएको उनले आरोप लगाए। उनले यसलाई आफ्नो पक्राउको निष्कर्षका रूपमा पनि व्याख्या गरे।
व्यक्तिगत गोपनीयताको हक कायम गर्ने व्यक्तिले नै सामाजिक सञ्जालमा फोटो राखेर सेयर गरेको तर सोही फोटोलाई आधार बनाएर सांसदलाई होस्टायल गराई आफूलाई भिक्टिम बनाइएको जिकिरसमेत श्रेष्ठले गरे।
हिरासतको अनुभव
हिरासतका पाँच दिनमा आफूलाई अपराधीजस्तो व्यवहार गरिएको गुनासो श्रेष्ठले गरे। उनलाई लागूऔषध कारोबारीसँगै समूहमा राखिएको र वकिल तथा कानुनी परामर्शदातासँग भेट्नसमेत नदिइएको उनको भनाइ छ। यसले आफ्नो मनोबल गिराउने प्रयास भएको उनले बताए। ‘अबदेखि लेख्दिनँ’ भन्न लगाएर कान समात्ने स्थिति बनाउन खोजिए पनि आफू १६ वर्षको उमेरदेखि र कक्षा ९ मा पढ्दादेखि जेल बसेर आएकाले नडराएको उनको भनाइ छ।
आफूलाई साथ दिने सम्पूर्ण मिडियाकर्मीप्रति आभार व्यक्त गर्दै श्रेष्ठले सरकारलाई कानुन आफैं हातमा नलिन र मौखिक आदेशका भरमा राज्य संयन्त्र नचलाउन आग्रह गरे। आफू बाँचुन्जेल नहार्ने र देखेका कुरा लेख्न नछाड्ने प्रतिबद्धता उनले जनाए।






