मुख्य सामग्रीमा जानुहोस्

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा सवारी ‘टाइम कार्ड’ को अवधि घट्यो

कोहलपुर नगरपालिकाको समन्वयात्मक बैठकले निकुञ्ज क्षेत्रमा सवारी आवागमन सहज बनाउन टाइम कार्डको अवधि घटाउने निर्णय गरेको छ। वैज्ञानिक अध्ययनका आधारमा यात्रुको कम्तीमा सात मिनेट समय बचत हुने दाबी गरिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा सवारी ‘टाइम कार्ड’ को अवधि घट्यो
Online Khabar

३ भदौ, नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गको ओभरी चेकपोस्टदेखि खैरी चेकपोस्टसम्मको खण्डमा सवारीसाधनका लागि तोकिएको ‘टाइम कार्ड’ को अवधि घटाइएको छ। अब उक्त दूरीका लागि न्यूनतम २१ देखि अधिकतम २४ मिनेटको समय निर्धारण गरिएको छ।

यसअघि बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१ बमोजिम ४० किलोमिटर प्रतिघण्टाको गतिमा १४ दशमलव २ किलोमिटर दूरी पार गर्न न्यूनतम २४ र अधिकतम २८ मिनेट तोकिएको थियो। नयाँ व्यवस्थाअनुसार सोही दूरी २१ देखि २४ मिनेटमै पार गर्न सकिने भएको हो।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा मंगलबार बसेको समन्वयात्मक बैठकले निकुञ्ज क्षेत्रमा सवारी आवागमन सहज बनाउँदै यात्रा समय घटाउने निर्णय गरेको हो। बैठकमा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल, रणध्वज गणका गणपति खिमबहादुर डाँगी, कोहलपुर–९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगी र कोहलपुर–१२ का वडाध्यक्ष वीरेन्द्र शाहलगायतको उपस्थिति थियो।

वडा नं १२ का वडाध्यक्ष शाहका अनुसार वैज्ञानिक अध्ययनका आधारमा सो दूरी २१ देखि २४ मिनेटमै पार गर्न सकिने देखिएको छ। यसले गर्दा यात्रुहरूको कम्तीमा सात मिनेट समय बचत हुने उनले बताए।

बैठकले राजमार्गमा पर्यटन प्रवर्द्धन, मानव–वन्यजन्तु सहअस्तित्व र सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा सूचना तथा साइनबोर्ड राख्ने निर्णयसमेत गरेको छ। सो कार्यका लागि कोहलपुर नगरपालिका र बाँके राष्ट्रिय निकुञ्जबीच समन्वय तथा सहकार्य गरिनेछ।

यसैगरी, नेपालगञ्ज उपमहानगरपालिकासहित सम्बन्धित निकायसँग समन्वय गरेर जुडुवा नाका, राँझा चोक, नेपालगञ्ज विमानस्थल र कोहलपुर चौराहमा ठूला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राख्ने पनि बैठकले तय गरेको छ। बाँके राष्ट्रिय निकुञ्जलाई जिल्लाको पर्यटन गन्तव्यका रूपमा प्रचार–प्रसार गर्ने निर्णय पनि भएको छ।

निकुञ्ज संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीय विकासलाई जोडेर अघि बढ्ने विषयमा बैठकमा छलफल भएको बताइएको छ।