काठमाडौं, भदौ ३ – सरकारले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) का अनुदान कोटाका शिक्षकको तलब वृद्धि गर्ने निर्णय गरेको हो।
शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अब माध्यमिक तहका अनुदान कोटाका शिक्षकको तलब माध्यमिक तृतीय श्रेणीबराबर हुनेछ। त्यस्तै, आधारभूत तहका शिक्षकको तलब निम्न माध्यमिक तृतीय श्रेणीबराबर कायम गरिनेछ।
नयाँ व्यवस्थाअनुसार माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ रुपैयाँबाट बढेर ४८ हजार ५८ रुपैयाँ पुगेको छ। आधारभूत तहका शिक्षकको मासिक तलब भने ३४ हजार ७३० रुपैयाँबाट बढेर ३८ हजार २०३ रुपैयाँ कायम गरिएको छ।
यसैगरी, सरकारले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय सहयोगी र लेखा हेर्ने विद्यालय कर्मचारीको पारिश्रमिक अनुदानमा पनि मासिक ५ हजार रुपैयाँ थप गरेको छ।
ईसीडी सहजकर्ताको पारिश्रमिक १२ हजारबाट बढेर १७ हजार रुपैयाँ पुगेको छ।
विद्यालय सहयोगीको १० हजारबाट बढेर १५ हजार रुपैयाँ।
लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट बढेर २० हजार रुपैयाँ।







