काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा दुवै जनाले सम्झौतामा हस्ताक्षर गर्दै प्रति आदानप्रदान गरेका हुन्।
यो सम्झौतामा चालु आर्थिक वर्षभरि उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा गरिने प्रमुख काम र हासिल गरिने उपलब्धिका विषय समेटिएका छन्। सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार, उपभोक्ता हित संरक्षण, उद्योग तथा व्यापार क्षेत्रको विकास र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ।
सरकारका प्राथमिकता र लक्ष्यलाई परिणाममुखी बनाउन प्रधानमन्त्री शाहले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्। यही क्रममा उद्योगमन्त्री यादवसँग भएको सम्झौताले मन्त्रालयका कामकारबाहीलाई थप जिम्मेवार, प्रभावकारी र नतिजामुखी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।







