परम्परागत नेपाली ऊनको फेल्टिङलाई समकालीन कलाको माध्यम बनाएर आठ कलाकारहरूको सामूहिक कला प्रदर्शनी काठमाडौंमा हुने भएको छ। उक्त प्रदर्शनीको नाम 'सुसम्झना: फेल्टिङ मेरोजिज अफ कल्चर' राखिएको छ।
कलाकार सफल श्रेष्ठले क्युरेट गर्ने यो प्रदर्शनी स्वयम्भू स्थित सर्वश्रेष्ठ ग्यालरीमा आयोजना हुनेछ। 'फेल्ट फ्युचर्स: अ डिजाइन फेलोसिप'को समापनका रूपमा हुन लागेको प्रदर्शनीको सहआयोजनामा महिला नेतृत्वको सामाजिक उद्यम फेल्ट दि वे, काठमाडौं विश्वविद्यालयको कला विभाग र सर्वश्रेष्ठ ग्यालरी रहेका छन्।
प्रदर्शनीमा सहभागी कलाकारहरूमा निलम राई, पर्सिस राई, प्रभा नापित, राजश्री श्रेष्ठ, सपना सञ्जीवनी, सफल श्रेष्ठ, सोना ल्हामु तामाङ र सुमनिता बज्रचार्य छन्।
दर्शकले कलाकारहरूले काँचो ऊनबाट तयार पारेका विभिन्न सामग्री अवलोकन गर्न सक्नेछन्। प्रदर्शनीका कृतिहरू सबै नेपाली ऊनबाटै बनेका हुनेछन्। कलाकृति निर्माणमा प्राकृतिक रूपमा विघटन हुने ऊन मात्र प्रयोग गरिएको जनाइएको छ।


