भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री सी जोसेफ विजयले विधायकहरूलाई सरकारी सवारी र मासिक एक लाख रुपैयाँ भत्ता दिने घोषणा गरेका छन्। विधानसभामा नियम ११० अन्तर्गत बोल्दै उनले सो घोषणा गरेको समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै जनाइएको छ।
नयाँ व्यवस्थाअनुसार विधायकहरूले सरकारी गाडीको चालक, इन्धन र मर्मतसम्भार खर्चबापत मासिक ७५ हजार रुपैयाँ पाउनेछन्। त्यस्तै कार्यालयसम्बन्धी कामकाजका लागि सहायक राख्न उनीहरूले थप २५ हजार रुपैयाँ मासिक भत्ता पाउनेछन्। यस हिसाबले प्रत्येक विधायकको मासिक भत्ता एक लाख रुपैयाँ पुग्नेछ।
मुख्यमन्त्री विजयका अनुसार यो व्यवस्थाले विधायकहरूलाई आ-आफ्नो निर्वाचन क्षेत्रमा जनताका समस्या समाधान गर्न आउजाउ गर्न सहज हुनेछ। साथै सरकारी आयोजनाहरूको निगरानी पनि प्रभावकारी रूपमा गर्न सकिने उनको भनाइ छ।
उनले आविन सहकारी संस्थाका लागि दूधको सरकारी खरिद मूल्य प्रतिलिटर ३८ रुपैयाँबाट बढाएर ४१ रुपैयाँ पुर्याउने समेत घोषणा गरेका छन्। यस्तै मुख्यमन्त्री स्वास्थ्य बिमा योजनाको वार्षिक कभरेज पाँच लाख रुपैयाँबाट बढाएर २५ लाख रुपैयाँ बनाइने बताइएको छ।







