प्रतिनिधिसभामा उठेका दुई विषयमा सभामुख डोलप्रसाद अर्यालको रुलिङपछि गृहमन्त्री सुधन गुरुङ र परराष्ट्रमन्त्री शिशिर खनालले सदनलाई जवाफ दिएका छन्। भदौ १ गते सभामुखले गरेको रुलिङअनुसार गृहमन्त्रीले जाजरकोट भूकम्प प्रभावित क्षेत्रको विषयमा र परराष्ट्रमन्त्रीले कम्बोडियामा रहेको एक नेपालीको शव नेपाल ल्याउने विषयमा जवाफ दिएका हुन्। सभामुखले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई समेत रुलिङ गरे पनि त्यो भने कार्यान्वयन हुन बाँकी छ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले गत साउन २२ गते जाजरकोट भूकम्पबाट प्रभावित जाजरकोट र सल्यानमा सरकारले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने भन्दै नौ दिने अल्टिमेटम दिएका थिए। सरकारले सो अवधिभित्र जवाफ नदिएपछि शर्माले सभामुखलाई रुलिङको माग गरेका थिए। सभामुख अर्यालले भदौ १ गते तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देश दिँदै रुलिङ गरेका थिए। सोहीबमोजिम बुधबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिए। उनले सो क्रममा सरकारले मापदण्डअनुसार काम गरिरहेको बताए।
त्यस्तै, रास्वपा सांसद आशिका तामाङले धादिङका सन्तोष राईको शव कम्बोडियामा रहेको तर नेपाल ल्याउन सरकारले आवश्यक पहल नगरेको भन्दै प्रश्न उठाएकी थिइन्। जवाफ नआउञ्जेल सदनमै उभिने चेतावनी दिएपछि सभामुख अर्यालले सरकारलाई जवाफ दिन रुलिङ गरेका थिए। यसै विषयमा मंगलबार परराष्ट्रमन्त्री खनाल प्रतिनिधिसभामा पुगेर जवाफ दिए। उनले सरकारले काम गरिरहेको भन्दै अवैधानिक रूपमा विदेश गएकालाई फर्काउने सन्दर्भमा कानुनी कठिनाइ रहेको बताए।
भदौ १ गते नै सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभामा उपस्थित भई सांसदहरूका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए। तर, प्रधानमन्त्रीलाई गरिएको सो रुलिङ कार्यान्वयन हुन सकेको छैन। सभामुखले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरेका छन्।







