काठमाडौं, भदौ ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले मन्त्रीहरूसँग देखाउँदै आएको असमझदारी र संसद्मा देखिएको अमर्यादित आचरणका कारण सभापति रवि लामिछानेले बुधबार दुवै पक्षलाई एकै ठाउँमा राखेर पार्टीको तर्फबाट निर्देशन दिएका छन्।
उक्त बैठकमा संसदीय दलका नेता तथा प्रधानमन्त्री बानेन्द्र शाह उपस्थित थिएनन्। सभापतिको तर्फबाट लामिछानेले सांसद र मन्त्रीहरूबीच छलफल गराएका थिए। बैठकमा पार्टीकै मन्त्रीहरूले सांसदका कुरा नसुनेको र संसद्मा प्रश्नोत्तरको अवस्थासमेत सिर्जना भएको विषय उठेको थियो। मन्त्रीहरूका काममा सांसदहरूले नै प्रश्न उठाउनुपर्ने अवस्था आएकाले अब कार्यशैली फेर्नुपर्नेमा लामिछानेले जोड दिए। उनले कार्यशैली परिवर्तन हुने तर मन्त्रीहरू नबदलिने आश्वासनसमेत दिए।
मन्त्रीहरूलाई लेखिने प्रश्नको बोधार्थ आफूलाई पनि दिन लामिछानेले निर्देशन दिएका छन्। उनले आफू ती प्रश्नको अध्ययन गर्ने बताए। जनताका प्रश्न सांसदहरूसँग र सांसदहरूका प्रश्न मन्त्रीहरूसँग रहेको भन्दै उनले सांसद, दल र सरकारबीचको समन्वय अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए। सरकार शक्तिशाली रहेको र इतिहासमै सबै प्रतिपक्षीहरू एक ठाउँमा उभिएको अवस्थाबारे सांसदहरू सचेत रहनुपर्ने पनि उनले बताए।
सदनमा नियमित उपस्थिति र मर्यादित आचरणका लागि पनि सभापति लामिछानेले निर्देशन दिएका छन्। अपमार्यादित बोली र सदन बैठक छल्ने प्रवृत्तिप्रति इंगित गर्दै उनले सांसदहरूलाई आचरणमा बस्न ध्यानाकर्षण गराए। संसद् नियमावली आफैं बनाएर पालना नगर्ने प्रवृत्ति नहुनुपर्ने र अमर्यादित गतिविधिबाट रमिता नदेखाउन उनले चेतावनी दिए।
राजनीतिलाई पाँच वर्षको कार्यकालमा सीमित नराख्नुपर्ने उनको भनाइ छ। लगानीबिना बाटोमा पद भेटेजस्तो व्यवहार गर्न नहुने भन्दै उनले पाँच वर्ष मात्र राजनीति गर्ने हो भने फूलमाला लगाएर बिदाइ गर्ने बताए। पार्टी निर्माणमा समय लाग्ने भएकाले हालको संरचनालाई राम्रो बनाउँदै लैजानुपर्ने उनको धारणा छ।
सांसद र मन्त्रीहरूको गतिविधि पारदर्शी हुनुपर्ने भन्दै लामिछानेले संसद्मा बोलिने विषय, भ्रमण र भेटघाटको विवरण पार्टीलाई जानकारी गराउन निर्देशन दिएका छन्। ‘रास्वपा पल्स’ एपमा आफ्ना काम र गतिविधिको विवरण नियमित रूपमा राख्न पनि उनले भनेका छन्। पार्टीभित्र आपसी संवाद र समन्वय नहुँदा गुनासो आएको भन्दै उनले घमण्ड त्यागेर एकअर्कासँग स्पष्ट रूपमा संवाद गर्न आग्रह गरे। सांसद र मन्त्रीबीच सहकार्य भएमात्र सरकार प्रभावकारी बन्ने उनको भनाइ छ।
प्रचारमुखी गतिविधिभन्दा परिणाममुखी काममा ध्यान दिनुपर्नेमा उनले जोड दिए। जनताले परिणाम खोजेकाले सांसदहरूले अध्ययन र सिकाइमा ध्यान दिनुपर्ने, सदनमा प्रस्तुति र सरकार तथा जनतासँगको व्यवहारबारे विश्लेषण गर्नुपर्ने उनको भनाइ छ। अबको बैठक संसदीय दलका नेतासहित बस्ने जानकारी पनि लामिछानेले बैठकमै गराएका थिए।
विधान संशोधनका लागि कार्यदल
बैठकले रास्वपा संघीय संसदीय दलको विधानमा सामयिक संशोधन गर्न कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरेको छ। कार्यदलमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल र गणेश कार्की सदस्य छन्। बैठकपछि लामिछानेले धेरै सांसद भएको ठूलो दलमा बोल्ने क्रममा केही विषय विवादमा पर्न सक्ने र त्यसलाई पार्टीले सम्हाल्ने बताए। संसद्मा प्रस्तुत हुने विषयबारे आम नागरिक र पार्टी पंक्तिबाट प्रश्न आएकाले मन्त्रीसहितका विषयमा छलफल भएको उनको भनाइ छ।







