मुख्य सामग्रीमा जानुहोस्

विदेशमा लुकाइएको सम्पत्ति फिर्ता ल्याउन सरकारले आँट देखाउनुपर्छ : सांसद केसी

कांग्रेस सांसद अर्जुननरसिंह केसीले सरकार पाँच वर्ष चल्नुपर्ने बताउँदै जनजीविकाका सवालमा सरकार गम्भीर नरहेको आरोप लगाएका छन्। उनले भ्रष्टाचारका फाइल खोल्न, ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाउन र विदेशमा लुकाइएको सम्पत्ति…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
विदेशमा लुकाइएको सम्पत्ति फिर्ता ल्याउन सरकारले आँट देखाउनुपर्छ : सांसद केसी
Online Khabar

काठमाडौं, ३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सत्तारुढ सरकारको पूर्ण कार्यकाल र मुलुकमा राजनीतिक स्थिरताका पक्षमा आफ्नो पार्टी रहेको बताएका छन्। बुधबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले पाँच वर्षे कार्यकाल पूरा गरोस् भन्ने चाहना रहेको स्पष्ट पारे।

सत्तारुढ दलभित्र देखिएको आन्तरिक व्यवस्थापन र संसदीय दलको बैठकमा देखिएको अन्योलबारे सोधिएको प्रश्नमा उनले यसलाई सत्तापक्षकै आन्तरिक मामिलाका रूपमा लिनुपर्ने बताए। जनताले राजनीतिक स्थिरता र विकासका लागि वर्तमान सरकारलाई विश्वास गरेकाले प्रतिपक्षले रचनात्मक भूमिका खेल्ने उनको भनाइ छ। प्रमुख प्रतिपक्षमा रहे पनि सरकारभित्रको खेलमा नलागी कामका आधारमा सहयोग गरिने उनले बताए।

तर जनजीविकाका सवालमा भने केसीले सरकारको आलोचना गरे। गत चार महिनामा मूल्यवृद्धि साढे ५ प्रतिशतभन्दा बढी रहेको, खाना पकाउने ग्यासको अभाव भएको र विद्युत् आपूर्तिमा समेत समस्या देखिएको भन्दै उनले सरकार गम्भीर हुन नसकेको आरोप लगाए।

त्यस्तै, उनले आर्थिक अपराध र भ्रष्टाचारका फाइल खोलेर कारबाही अघि बढाउन सरकारलाई आग्रह गरे। ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाउने र विदेशमा लुकाइएको सम्पत्ति फिर्ता ल्याउने आँट सरकारले देखाउनुपर्नेमा उनले जोड दिए। यी काममा आफ्नो पार्टीले पूर्ण साथ दिने उनको भनाइ छ।

सत्तापक्षका सांसदहरूले हरेक समस्याको दोष पुराना दलहरूलाई दिने गरेकोप्रति पनि केसीले कटाक्ष गरे। ‘नाच्न नजान्ने आँगन टेढो’ भन्ने उखान प्रयोग गर्दै उनले सरकारले आफ्ना कमजोरी देख्न नसकेको संकेत गरे।