मुख्य सामग्रीमा जानुहोस्

जनसरोकारका आधारभूत मुद्दामा सरकार संवेदनशील छैन : साम्पाङ

उनले ग्यास, पेट्रोलियम पदार्थ र खानेपानीजस्ता आधारभूत आवश्यकताका लागि नागरिकले भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै मल खरिदमा लालपुर्जा देखाउनुपर्ने प्रावधान झन्झटिलो भएको बताए । नेताले ताली र गाली दुवै…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
जनसरोकारका आधारभूत मुद्दामा सरकार संवेदनशील छैन : साम्पाङ
Online Khabar

काठमाडौं, ३ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सरकार जनसरोकारका आधारभूत विषयमा संवेदनशील नबनेको आरोप लगाएका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले दैनिक उपभोग्य वस्तुको अभावदेखि प्रशासनिक ढिलासुस्तीसम्मका विषयमा असन्तुष्टि पोखे ।

संसद्को बैठक निर्धारित समयमा सुरु नभई ढिलो भएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । सत्तापक्षको आन्तरिक बैठकका कारण सदनलाई पर्खाइएको उनको गुनासो छ । नियमअनुसार दुई घण्टाभन्दा बढी ढिलो भए बैठक स्थगित गर्ने प्रावधान भए पनि यस्ता प्राविधिक ढिलाइले संसद्को गरिमामा आँच पुर्याउने उनले तर्क गरे ।

आम नागरिकले ग्यास, पेट्रोलियम पदार्थ र खानेपानीजस्ता दैनिक आवश्यकताका लागि भोग्नुपरेको कठिनाइबारे उनले चिन्ता जाहेर गरे । मल खरिद गर्न किसानले जग्गाको लालपुर्जा देखाउनुपर्ने व्यवस्थाले वास्तविक किसान नै मर्कामा पर्ने उनको भनाइ छ । अरूको जग्गा कमाइरहेका किसान वा जग्गाधनी गाउँमा नभएको अवस्थामा मल नपाउने अवस्था न्यायोचित नहुने उनले बताए । यस्तो प्रावधान झन्झटिलो र अनावश्यक रहेको उनको तर्क छ ।

कालाबजारी नियन्त्रण गर्ने दायित्व कार्यकारी निकाय सरकारकै भएको स्पष्ट पार्दै उनले विदेशबाट आयात हुने वस्तुहरूको स्टक प्रणाली प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

‘म सबैभन्दा धेरै गाली खप्ने व्यक्ति हुन सक्छु, तर कहिल्यै रिसाएको छैन । नेताले ताली र गाली दुवै स्वीकार्नुपर्छ,’ उनले भने ।