भरतपुर अस्पतालका बिरामीले अब प्रयोगशालाको रिपोर्टका लागि लामो पर्खाइ र काउन्टरको झन्झट बेहोर्नु नपर्ने भएको छ। अस्पतालले प्रयोगशालाको नतिजा वेबसाइटमार्फत हेर्न र प्रिन्ट गर्न सकिने प्रणाली तयार पारेको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार वेबसाइटको ‘ल्याब रिपोर्ट’ खण्डमा प्रवेश गरेपछि युजरनेम र पासवर्ड माग हुनेछ। उपचार शुल्क तिर्दा दिइने बिलमा नै यी विवरण उल्लेख गरिएको हुने उनले जानकारी दिए। सोही युजरनेम र पासवर्ड प्रयोग गरेर बिरामीले आफ्नो नतिजा अनलाइनबाटै हेर्न र प्रिन्ट गर्न सक्नेछन्।
त्यस्तै, अस्पताल परिसरमा जडान गरिएका दुई भेन्डिङ मेसिनबाट बहिरङ्ग सेवा (ओपिडी) टिकट र प्रयोगशाला रिपोर्ट दुवै लिन मिल्ने व्यवस्था गरिएको छ। यसले बिरामीलाई काउन्टरमा लाइन बस्नुपर्ने बाध्यताबाट मुक्ति दिने डा. बगाले बताउँछन्।
अस्पतालमा दैनिक तीन हजार आठ सय बिरामी बहिरङ्ग सेवाका लागि आउने गरेको तथ्याङ्क छ। सेवा–सुविधामा सुधार हुँदै जाँदा बिरामीको चाप पनि बढ्दै गएको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको भनाइ छ। ६२० शय्या सञ्चालनमा रहेको यस अस्पतालमा चितवनसहित छिमेकी २५ जिल्लाका बिरामी उपचारका लागि आउने गर्छन्।
स्वास्थ्य बीमामार्फत सेवा दिने सवालमा पनि भरतपुर अस्पताल अग्रणी मानिन्छ। सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा रोकेपछि बीमामार्फत उपचार गराउन यहाँ आउने बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको छ।







