गौरीबहादुर कार्कीले लेखन तथा प्रस्तुति गरेको पुस्तक ‘बडीमालिका’ ले सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको बडीमालिका धामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई उजागर गरेको छ। पुस्तकलाई आस्था र सद्भावको संगमका रूपमा व्याख्या गरिएको छ।
पुस्तकको सुरुवाती पाठमै लेखक कार्कीको इमानदारी र कर्मप्रतिको निष्ठा झल्किने चर्चा छ। उमेरका हिसाबले कान्छा भए पनि उत्साह, उमङ्ग र स्वविवेकमा अग्रज मानिएका कार्की यसअघि विभिन्न जाँचबुझ आयोगको नेतृत्व सम्हालिसकेका व्यक्ति हुन्। उनले सहकारी २०७०, चिकित्सा शिक्षा २०७४, मिटर ब्याज २०१९ र जेनजी घटना जाँचबुझ आयोग २०६२ जस्ता आयोगको अध्यक्षको जिम्मेवारी पाएको उल्लेख छ।
बडीमालिका बाजुराको उच्च पर्वतीय भूमिमा अवस्थित शिखरवर्ती धार्मिक तीर्थस्थल हो। पुस्तकमा यस क्षेत्रलाई दर्शनीय अवलोकन भूमि तथा पर्यटकीय आकर्षणको केन्द्रका रूपमा लिइएको छ। पर्यटकीय पदमार्गमा दुई–तीन घण्टाको अन्तरालमा गेस्ट हाउस, पर्यटक विश्रामस्थल, आवासगृह र लेकाली उपचारको व्यवस्था गर्नुपर्ने पक्षबारे पुस्तकमा विचार गरिएको छ।
यस धामलाई देवीप्रतिको भावभक्तिको केन्द्रका रूपमा वर्णन गरिएको छ। पहिले धार्मिक आस्थाका लागि मात्र चिनिने यो स्थान अहिले प्राकृतिक पर्यावरणसँग जोडिएको आर्थिक उपार्जनको सबल स्रोतका रूपमा स्थापित हुँदै गएको पुस्तकमा औंल्याइएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनका लागि बडीमालिका महत्त्वपूर्ण धाम हुन सक्ने उल्लेख छ।
बडीमालिकालाई नेपाली सेनाको आराध्य शक्ति, साहस र कर्मनिष्ठ समर्पणको नैसर्गिक धामका रूपमा पनि चित्रण गरिएको छ। ग्रन्थमा समेटिएका छायाङ्कृत चित्रमालालाई हजार शब्दभन्दा बढी सार्थक र शक्तिशाली मानिएको छ। लेखनशैली आकर्षक रहेको तथा पुस्तकले कर्म, इमान र आस्थाको सन्देश दिने गरेको बताइएको छ।






