इतिहासकै सबैभन्दा द्रुत गतिमा फैलिरहेको इबोला प्रकोपसँग जुधिरहेको कंगोलाई एर्भेबो खोपका १६ हजारभन्दा बढी डोज प्राप्त भएका छन्। स्वास्थ्यमन्त्रीले यो जानकारी दिएका हुन्।
राजधानी किन्सासाको एन’जिली अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार साँझ १६ हजार २५० डोज आइपुगेका हुन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र साझेदारहरूले बिहीबार उपलब्ध गराउने घोषणा गरेको ७० हजार डोजमध्ये यो पहिलो खेप हो। आगामी हप्ताको सुरुमा थप डोज आउने अपेक्षा गरिएको छ।
हालको प्रकोप दुर्लभ बुन्डिबुग्यो भाइरसका कारण भएको हो, जसका लागि हाल कुनै स्वीकृत उपचार वा खोप छैन। मलेरियाजस्ता अन्य रोगसँग मिल्दोजुल्दो लक्षण देखिने भएकाले यो सजिलै फैलिन सक्ने र पत्ता नलागी नै छुट्न सक्ने बताइएको छ। एर्भेबो खोप इबोलाको उपचारका लागि स्वीकृत छ र विगतका प्रकोपमा प्रभावकारी देखिएको छ। डब्लुएचओले यस खोपले बुन्डिबुग्यो भाइरसविरुद्ध केही सुरक्षा प्रदान गर्न सक्ने बताएको छ।
पछिल्लो प्रकोपमा ६ प्रभावित प्रदेशमा ५ हजार ३७५ पुष्टि भएका संक्रमणमध्ये २ हजार ५५७ जनाको मृत्यु भएको छ। यो प्रकोप अभूतपूर्व गतिमा फैलिरहेको छ र सन् २०१४–२०१६ मा पश्चिम अफ्रिकामा ११ हजारभन्दा बढीको ज्यान लिने सबैभन्दा भयानक प्रकोपलाई उछिन्ने क्रममा रहेको छ। अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोलका तथ्यांकअनुसार संक्रमण दर अझै चरम बिन्दुमा पुगिसकेको छैन र यो हाल ज्ञात दरको तीन गुणासम्म पुग्न सक्छ।
प्रकोप नियन्त्रणका प्रयासहरू भने सशस्त्र द्वन्द्वका कारण बाधित भइरहेका छन्। सरकार र विद्रोही समूहबीचको द्वन्द्वका कारण प्रभावित क्षेत्रका प्रमुख सहर विद्रोही नियन्त्रणमा रहेका छन्। स्वास्थ्यकर्मी र स्वास्थ्य संरचनामाथि आक्रमण हुने गरेको छ। कामका लागि एक स्थानबाट अर्को स्थानमा पुग्ने श्रमिक, द्वन्द्वका कारण विस्थापित मानिसहरू तथा आधारभूत पूर्वाधारको अभावले समेत नियन्त्रण प्रयासलाई थप कठिन बनाएको छ।







