नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सत्तामा रहेका नेता तथा जनप्रतिनिधिहरूले आफ्नो निजी स्वार्थलाई पछि पारेर देश र जनताको सेवामा खटिनुपर्ने बताएका छन्। भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार सम्पन्न ‘सञ्चारमाध्यममा भक्तपुर नपा’ र ‘सञ्चारमाध्यममा भक्तपुर नपा २’ पुस्तक परिचर्चा तथा लेखक-सञ्चारकर्मी सम्मान कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा सत्तामा पुगेकाहरूले आफ्नोभन्दा पहिले देश र जनताको हितलाई अगाडि राख्नुपर्नेमा उनले जोड दिए। जनताले चाहेजस्तो परिवर्तन ल्याउन अझै केही पुस्ता कुर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
बिजुक्छेँले जनताको भावनालाई कुण्ठित पार्ने काम कसैले पनि नगर्नु भन्दै त्यसो गरिएसम्म देशको प्रगति नहुने बताए। नयाँ पुस्तालाई नयाँ शैलीमा अगाडि बढाउनुपर्ने, तर जनताले अपेक्षा गरेको परिवर्तन आउन अझै समय लाग्न सक्ने उनको टिप्पणी छ। जनप्रतिनिधिले सबै जनताको मन र भावना जितेर मात्र काम गर्नुपर्नेमा उनले स्पष्ट पारे।
समाजलाई सफल बनाउन सकिए देश पनि सफल हुने धारणा राख्दै अध्यक्ष बिजुक्छेँले नैतिक धरातल खस्किँदै गएको वर्तमान परिवेशमा सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले समाजलाई सही बाटो देखाउनुपर्ने औंल्याए।







