नेपाली कांग्रेसका प्रदीप पौडेलले पार्टी सुधार, वैचारिक रूपान्तरण तथा संगठनात्मक सुदृढीकरणका विषयमा आफूसँग अनुभवमा आधारित स्पष्ट योजना रहेको बताएका छन्। कांग्रेसमाथिको भरोसा र नेतृत्वप्रतिको विश्वास बढेको उल्लेख गर्दै उनले सोही योजनाअनुसार पार्टी अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
उक्त योजनाभित्र संगठनात्मक पक्षका विषय प्रमुख रूपमा पर्ने उनले जानकारी दिए। सदस्यताको व्यवस्थापनदेखि संगठनको संरचना निर्माण र त्यसभित्रको जिम्मेवारी वितरणसम्मका काम यही योजनाको दायरामा आउँछन्।
बहसमा ल्याइएका विषय, व्यक्त गरिएका प्रतिबद्धता र उठाइएका वैचारिक एजेन्डाको कार्यान्वयनलाई पनि यसै योजनासँग जोडिएको उनको भनाइ छ। वैचारिक तथा सांगठनिक पक्षमा थालिएको कामलाई पूर्णता दिनु आफ्नो जिम्मेवारी भएको उनले बताए।
विधिभित्रैबाट समाधान
१५औँ महाधिवेशनपछि पार्टीलाई एकताबद्ध बनाउने विषयमा बोल्दै पौडेलले पार्टीभित्र उठेका समस्या विधि–विधानको पूर्ण पालनाबाटै टुङ्गिने अवस्था बनाउनुपर्ने बताए। जुनसुकै विषयको समाधान पनि विधिभित्रैबाट हुनुपर्नेमा उनले जोड दिए।
पार्टीमा एक–अर्काप्रति सम्मानको भाव विकास गर्ने र कसैको स्वाभिमान गिर्न नदिने वातावरण बनाउनुपर्ने उनको भनाइ छ। यसरी भावनात्मक सम्बन्ध बलियो बनाउँदा एकतालाई थप बल पुग्ने उनले उल्लेख गरे।
विधानले तोकेका जिम्मेवारी नियमित रूपमा अगाडि बढाउनुपर्ने, पार्टीका साथीहरूको क्षमताअनुसार भूमिका तय गर्नुपर्ने र पार्टीका गतिविधि चलायमान बनाउनुपर्ने पनि उनले बताए। पार्टीका मञ्चहरूलाई वैचारिक बहसको केन्द्रका रूपमा विकास गर्न सकेमा मात्र पार्टी एकता अझ सुदृढ हुने उनको भनाइ छ।







