रौतहटको देवाही गोनाही नगरपालिका-२ स्थित लक्ष्मीनियामा लालबकैया नदीमा मंगलबार दिउँसो नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका छन्। घटनाको जानकारी दिउँसो करिब १ः५० बजे प्राप्त भएको र त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली खोजीमा परिचालन भएको सुरक्षा स्रोतले जनाएको छ।
बेपत्ता बालबालिका
बेपत्ता हुनेमा शेख आमरे आलमका छोरा १० वर्षीय मोहम्मद रामतुल्लाह, शेख खुराउसेकी छोरी १० वर्षीया रौशन खातुन र शेख ओसी अख्तरकी छोरी १० वर्षीया सबनम खातुन रहेका छन्। उनीहरू सबै लक्ष्मीनियाका बासिन्दा हुन्।
खोजी तथा उद्धार
घटना लगत्तै सशस्त्र प्रहरी नायब निरीक्षक भक्तबहादुर शाहीको नेतृत्वमा सात सदस्यीय सशस्त्र प्रहरी टोली र प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा १६ सदस्यीय नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएको थियो।
त्यसपछि खोजी अभियानलाई थप विस्तार गर्दै दिउँसो करिब २ः४० बजे सशस्त्र प्रहरी बलको गण नं. ११ गण मुख्यालय रौतहटबाट नौ सदस्यीय डाइभिङ तथा उद्धार टोली रबर बोटसहित पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सो टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षक विमबहादुर पुनले गरेका छन्।
सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहभागितामा बेपत्ता बालबालिकाको खोजी जारी रहेको छ।






