मुख्य सामग्रीमा जानुहोस्

रुससँग हिंस्रक द्वन्द्वको जोखिम छ : जर्मन गुप्तचर प्रमुख जेगर

जर्मनीका गुप्तचर प्रमुख मार्टिन जेगरले रुससँग हिंस्रक द्वन्द्वमा फस्ने जोखिम औंल्याएका छन्। संसद्‌मा गुप्तचर प्रमुखहरूको वार्षिक सुनुवाइमा बोल्दै उनले रुसले ड्रोन र साइबर आक्रमणमार्फत जर्मनीको परीक्षण गरिरहेको बताए।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
रुससँग हिंस्रक द्वन्द्वको जोखिम छ : जर्मन गुप्तचर प्रमुख जेगर
eKantipur

बर्लिन — जर्मनीका गुप्तचर प्रमुख मार्टिन जेगरले रुससँग हिंस्रक द्वन्द्वमा फस्ने जोखिम रहेको चेतावनी दिएका छन्। युरोपेली लोकतन्त्रहरूविरुद्ध मस्कोले चलाइरहेको ‘छायाँ युद्ध’ क्रमशः आक्रामक बन्दै गएको उनको भनाइ छ।

सोमबार संसद्‌मा गुप्तचर प्रमुखहरूको वार्षिक सार्वजनिक सुनुवाइलाई सम्बोधन गर्दै जेगरले जर्मनी रुसबीच हिंस्रक द्वन्द्व निम्तिन सक्ने बताए। यसको एउटा उदाहरण लेइपजिगमा भएको आक्रमणको प्रयास रहेको उनले उल्लेख गरे।

जर्मनीमाथि ड्रोन तथा साइबर आक्रमणको हाइब्रिड अभियान चलिरहेको चेतावनी जर्मन अधिकारीहरूले पटक-पटक दिँदै आएका छन्। गत अगस्टमा लेइपजिग विमानस्थलमा भएको असफल ड्रोन आक्रमणको दोष पनि जर्मनीले रुसतिर लगाउँदै आएको छ।

अहिले युरोपेली देशहरूसँग रुस छायाँ युद्धमा उत्रिएको र तत्कालै ठूलो आक्रमणको खतरा नरहेको जेगरले बताए। तर यस्तो अवस्था जुनसुकै बेला रुससँगको युद्धमा परिणत हुनसक्ने उनको आकलन छ। त्यसैले आणविक आक्रमणको धम्की र हस्तक्षेपको सामना गर्न जर्मनी तयार रहनुपर्ने उनले बताए।

मस्कोको आक्रामकता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो कुनै पनि देशमाथि आक्रमण गर्ने मनसाय नरहेको बताएका थिए। तर मस्को निकै आक्रामक बन्दै गएको जेगरले प्रतिक्रिया दिए। जर्मन गुप्तचर निकायप्रति पनि रुस आक्रामक रहेको र जर्मनीको परीक्षण गरिरहेको उनले बताए। कुनै कमजोरी भेटिए मस्कोले दबाब अझ बढाउँदै लैजाने उनको भनाइ छ।

आउँदो हिउँदमा युक्रेनलाई घुँडा टेकाउने रुसको प्रतिबद्धता रहेको जानकारी आफूहरूसँग रहेको पनि जेगरले जनाए। युक्रेनलाई साथ र समर्थन गरेकै कारण रुस जर्मनीप्रति थप आक्रामक देखिएको उनले बताए।

युक्रेनलाई सैन्य सहयोग

आइतबार मात्रै जर्मनीका चान्सलर फ्रेडरिक मर्जले युक्रेनसँग १ अर्ब युरोको सैन्य सहायता सम्झौतामा हस्ताक्षर गरेका छन्। किभमा सम्झौतापत्रमा हस्ताक्षर गर्दै उनले युक्रेनलाई जर्मनीको साथ र समर्थन निरन्तर रहने बताए। यो सहयोग युक्रेनका लागि मात्र नभई आफ्नै गहिरो हित तथा सुरक्षामा गरिएको लगानी पनि भएको उनको भनाइ छ।