कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय (डिना)ले पार्टीको १५औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दिएकी छन् । संगठन विस्तार गर्ने र सिंगो पार्टी पंक्तिको मनोबल उकास्ने लक्ष्यका साथ उनले उक्त पदमा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।
पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय उपाध्यायले पद्मकन्या क्याम्पसको स्ववियू सभापतिको जिम्मेवारीबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् । त्यसपछि उनी कांग्रेसको केन्द्रीय सदस्य र सहमहामन्त्री भइसकेकी छन् । यही अनुभवका आधारमा उनले पार्टीको कार्यकारी तहमा पुग्ने महत्वाकांक्षा राखेर महामन्त्री पदमा उम्मेदवारी दिएको बताएकी छन् । यस विषयमा राजेश मिश्रले उनसँग गरेको कुराकानीमा उनले आफ्नो प्राथमिकता, आधार र भावी योजना प्रस्तुत गरेकी छन् ।
संगठन खस्किएको आकलन
आफ्नो उम्मेदवारीको कारण खुलाउँदै उपाध्यायले भनेकी छन् कि उनले पार्टीमा केन्द्रीय सदस्य र सहमहामन्त्रीका रूपमा काम गरिसकेकी छन् र कार्यकारी तहमा बसेर जिम्मेवारी निर्वाह गर्नुपर्ने सुझाव साथीहरूबाटै आएको थियो । देशैभर संगठनको काममा हिँडेको र कार्यकर्तालाई भेटेको अनुभव उनले सुनाइन् ।
अहिले संगठन खस्किएको र पार्टी कार्यकर्ताको मनोबल गिरेको अवस्था रहेको उनको ठहर छ । त्यसैले संगठन विस्तार र समग्र पार्टी पंक्तिको मनोबल बढाउनु नै आफ्नो मुख्य लक्ष्य रहेको उनले बताएकी छन् ।
प्रतिनिधिको रोजाइ किन ?
महाधिवेशनका प्रतिनिधिले आफूलाई किन रोज्नुपर्ने भन्ने प्रश्नमा उपाध्यायले आफू राजनीतिमा नयाँ नभएको जिकिर गरेकी छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा लागेकी र लामो समय निरन्तर सक्रिय रहेकी उनलाई देशभरका नेता तथा कार्यकर्ताले चिन्ने गरेको उनको भनाइ छ ।
पार्टी नेतृत्वमा महिला पुग्नुपर्छ भन्ने मुद्दा आफूले लामो समयदेखि उठाउँदै आएको उनले स्मरण गराएकी छन् । पञ्चायतकालदेखि नै राजनीतिमा होमिएको र लोकतन्त्रका लागि लडेको व्यक्तिका रूपमा आफूलाई धेरैले चिनेको उनको दाबी छ । कांग्रेसलाई बुझेको र चिनेको व्यक्तिका रूपमा पनि धेरैले आफूलाई लिने गरेको उनले बताएकी छन् ।
साथीहरूको दबाब, सुझाव र आग्रहकै कारण आफूले उम्मेदवारी दिएको उनले बताएकी छन् । कार्यकारी तह तथा नेतृत्वमा महिला पुग्नुपर्छ भन्ने चाहना धेरैमा देखेको र आफूलाई त्यहाँ हेर्ने इच्छा रहेको उनको भनाइ छ । त्यही आधारमा प्रतिनिधिको मत आफूलाई प्राप्त हुने विश्वास उनले व्यक्त गरेकी छन् ।
कार्यकारी तहमा पुगेपछि पार्टीभित्र र बाहिर महिलालाई अधिकार दिलाउने तथा संविधानले दिएका अधिकारको कार्यान्वयन गराउने काममा आफू लागिरहने उनले प्रतिबद्धता जनाएकी छन् ।







