काठमाडौं — कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनको बन्दसत्र समापन समारोहमा पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थितिले आफूलाई नमिठो लागेको बताएका छन्। बुधबार खुलामञ्चमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरूलाई यो विषयले खट्किएको उल्लेख गरे।
सभापति थापाका अनुसार निवर्तमान सभापति देउवाले पार्टीका लागि लामो समय संघर्ष गरेका छन् र पार्टी निर्माणमा उनको ठूलो योगदान छ। त्यसैले उनको बाहिरी रहँदा सहज महसुस नभएको र महाधिवेशनमा नआएका नेताहरूका बारेमा पनि आफ्नो ध्यान गएको उनले बताए।
महाधिवेशनको मञ्चबाट नआउनुभएका नेताहरूलाई पनि आग्रह गर्न चाहन्छु — यो पार्टी तपाईं र हामी सबै मिलेर बनाएको हो। आगामी दिनमा उहाँहरूलाई सँगै लिएर अघि बढ्न चाहन्छौँ।
उनले लामो समय पार्टीमा योगदान गरेका नेताहरू पनि समारोहमा उपस्थित भइदिएको भए हुने भन्ने चाहना व्यक्त गर्दै महाधिवेशनबाहिर रहेकाहरूलाई समेत साथमा लिएर अघि बढ्ने इच्छा रहेको जनाए।
पार्टीभित्रको विवादबारे बोल्दै सभापति थापाले सर्वोच्च अदालतको फैसला कुर्ने कुराले समय मात्र बर्बाद हुने धारणा राखे। राजनीतिक विषयमा पुनरावेदनको बाटो लिनुभन्दा राजनीतिक रूपमै सहमति खोज्नुपर्नेमा उनको जोड छ।







