मुख्य सामग्रीमा जानुहोस्

भूमिहीन सुकुम्बासीलाई लालपुर्जा दिने सरकारको प्रतिबद्धता, मन्त्री रावलद्वारा ढुक्क रहन आग्रह

मन्त्री रावलले कानुनमा सुधार भइसकेकाले लालपुर्जा दिने बाटो खुलेको बताउँदै जिल्ला भूमि समितिलाई छिटो काम थाल्न आग्रह गरेकी छन्। सुकुम्बासीलाई बसिरहेकै ठाउँबाट नहटाइने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
भूमिहीन सुकुम्बासीलाई लालपुर्जा दिने सरकारको प्रतिबद्धता, मन्त्री रावलद्वारा ढुक्क रहन आग्रह
Nagariknetwork

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासीहरूलाई सरकारले लालपुर्जा दिने विश्वास दिलाएकी छन्। कानुन संशोधन भइसकेकाले अब सुकुम्बासीको समस्या समाधानतर्फ अघि बढ्ने बताउँदै उनले लालपुर्जा पाउने विषयमा ढुक्क रहन आग्रह गरेकी हुन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार भूमिहीन सुकुम्बासीसँगको भेटमा मन्त्री रावलले लालपुर्जा दिने बाटो खुलेको र कानुन सुधार भइसकेको बताइन्। त्यसका लागि जिल्ला भूमि समितिले सकेसम्म छिटो काम थालेर सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।

सुकुम्बासीको समस्या समाधानका लागि देशैभरका कानुनमा अझै धेरै सुधार गर्नुपर्ने मन्त्री रावलले बताइन्। हालको कानुनमा केही बाधा अड्चन रहेकाले समस्या समाधान हुन नसकेको भन्दै उनले कानुन संशोधन गरेर मुलुकभरका सुकुम्बासीको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरिन्।

भूमिहीन सुकुम्बासीको समस्यालाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको उनले स्पष्ट पारिन्। सुकुम्बासी बसिरहेकै ठाउँबाट सरकारले नहटाउने बताउँदै उनले सरकारले लालपुर्जा दिने कुरामा आश्वस्त हुन आग्रह गरिन्। साथै, अफवाहमा नलाग्नसमेत उनले सुकुम्बासीहरूलाई सुझाव दिइन्।