मुख्य सामग्रीमा जानुहोस्

रास्वपाको मधेश अधिवेशन तयारी : सभापति रविको भ्रमण मिति अनिश्चित

रास्वपाले मधेशका सात जिल्ला र प्रदेश समितिको अधिवेशन गराउने तयारी थालेको छ । यसका लागि सभापति रवि लामिछाने मधेश जाने तयारीमा छन् तर मिति भने अनिश्चित छ ।

विश्वपत्र संवाददाता

· ४ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रास्वपाको मधेश अधिवेशन तयारी : सभापति रविको भ्रमण मिति अनिश्चित
Online Khabar

रास्वपाले मधेश प्रदेशका सात जिल्लामा अधिवेशन गराउने तयारी थालेको छ । पहिलो महाधिवेशन सम्पन्न गरिसक्दा पनि मधेशका बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको जिल्ला अधिवेशन हुन सकेको छैन । ती जिल्लाको अधिवेशन तालिका र सभापति रवि लामिछानेको भ्रमणबारे छलफल गर्न मंगलबार (भदौ १० गते) पार्टी मुख्यालय चमतीमा नेताहरू जुटेका थिए ।

छलफलको संयोजन सहमहामन्त्री पुरुषोत्तम यादवले गरेका थिए । मंगलबारै यी जिल्लाको अधिवेशन र सभापतिको यात्राको मिति टुंगो लाग्ने भनिए पनि सार्वजनिक गरिएको छैन ।

मधेशमा सदस्यता र प्रतिनिधि विवादका कारण सातै जिल्ला र प्रदेश समितिको अधिवेशन नगरी रास्वपा केन्द्रीय महाधिवेशनमा होमिएको थियो । पर्सामा भने अधिवेशन भई हरि पन्तको नेतृत्वमा नयाँ समिति बनेको छ ।

अधिवेशन रोकिनुका कारण

नेतृत्व चयनमा गुटबन्दी, सांसदहरूको हस्तक्षेप र पुराना कार्यकर्ता तथा चुनावअघि पार्टी प्रवेश गरेकाहरूबीचको हानथापका कारण यी जिल्लामा अधिवेशन हुन नसकेको नेताहरू बताउँछन् । कतिपय स्थानमा त नेतृत्वका लागि हात हालाहालसम्मको अवस्था आएको थियो ।

प्रदेश सभापति तपेश्वर यादव चुनावअघि अन्य दलबाट रास्वपामा प्रवेश गर्नेहरूको लहर आएकाले व्यवस्थापन गर्न समस्या भएको बताउँछन् । ‘पहिला फरकफरक दलमा रहेर प्रतिस्पर्धा गर्नेहरू अहिले एउटै पार्टीमा आएका छन् । अन्य दलबाट रास्वपामा आएर एक अर्कासँग लड्नुपर्दा नेतृत्वका लागि खिचातानी भएको हो,’ उनले भने ।

यादवका अनुसार मधेशका १३६ पालिकामध्ये १० देखि १५ वटा पालिकाको अधिवेशन हुन सकेको छैन । अधिवेशन हुन नसकेका पालिकामा तदर्थ समिति गठन गरिएको छ ।

जनसंख्याको ठूलो हिस्सा रहेको मधेशमा अधिवेशन हुन नसकेपछि पार्टी केन्द्र अग्रसर भएको हो । सभापति रवि लामिछाने स्वयं मधेश आएर अधिवेशनको वातावरण बनाउने तयारीमा छन् । दुई दिनअघि केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिने क्रममा उनले भनेका थिए, ‘आफैं मधेश जाने तयारीमा छु । हप्ता/दश दिन वा दुई हप्तामा म मधेश यात्रामा पनि निस्कन्छु । त्यहाँ अधिवेशनहरू गर्नुपर्नेछ ।’

त्यस्तै, अधिवेशन हुन नसकेका स्थानको विवाद अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी सहमहामन्त्री हरि ढकाललाई दिइएको छ । पारिवारिक दुःख र क्षेत्रका कामका कारण मधेशमा ध्यान दिन नसकेको ढकालले बताएका छन् । मधेशकै व्यक्तिलाई यो जिम्मेवारी दिँदा विवाद हुन सक्ने भन्दै बाहिरका व्यक्तिलाई खटाइएको प्रदेश सभापति यादव बताउँछन् ।

दुई धार र टिकटको भ्रम

मधेशमा अधिवेशन सहज हुन नसक्नुमा पार्टीभित्रको दुई धार पनि कारण रहेको मधेशका नेताहरू बताउँछन् । मधेश प्रदेशस्तरीय एक नेताका अनुसार पार्टी सभापति र प्रधानमन्त्री बालेन शाहको पक्षमा पार्टी पंक्ति ध्रुवीकृत छ । ती नेताको भनाइमा मधेशका ३९ सांसदमध्ये ३२ जना प्रधानमन्त्री बालेन नजिक छन् । अधिवेशनमा सांसदहरूले आफू निकटलाई अघि बढाउन खोज्दा विवाद बढेको र प्रक्रिया नै बिथोलिएको नेताहरूको कथन छ ।

मधेश अधिवेशनलाई आगामी प्रदेश र स्थानीय तहको निर्वाचनसँग जोडेर पनि हेरिएको छ । पालिका, जिल्ला र प्रदेश संरचनाको नेतृत्वमा पुग्नेले नै टिकट बाँड्ने भ्रम कार्यकर्तामा रहेकाले किचलो देखिएको एक मधेश सांसद बताउँछन् । ‘पार्टी समितिमा रहेको नेतृत्वले टिकट बाँड्ने होइन भन्ने कार्यकर्तालाई बुझाउनै सकिएको छैन । पार्टीले क्यान्डिडेट क्लब बनाएको छ । निश्चित प्रक्रिया पूरा गरेर उम्मेदवार हुने पार्टीको विधि कार्यकर्तालाई छैन,’ उनले भने ।

रास्वपाले गाउँपालिका तहमा उम्मेदवार हुन इच्छुकका लागि भदौ १ गतेदेखि आवेदन खुला गरेको छ । क्यान्डिडेट क्लबमा दर्ता भएपछि मात्रै उम्मेदवार छनोट प्रक्रियाको पहिलो चरण पूरा हुने उल्लेख छ । व्यक्तिको क्षमता, सांगठनिक क्रियाशीलता, छवि, योग्यता र उम्मेदवार एकेडेमीको प्रस्तुतिलगायतको मूल्यांकन गरेर मात्रै उम्मेदवार छनोट गरिने विधि पार्टीले बनाएको छ । सभापति लामिछानेले यो विधिभन्दा बाहिर गएर उम्मेदवार छनोट हुनै नसक्ने दोहोर्‍याएका छन् ।

चितवनमा भएको पहिलो महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा पनि मधेशमा सबैभन्दा बढी समस्या भएको थियो । मधेशका प्रतिनिधि टुंगो लाग्न नसक्दा महाधिवेशनको मतदान प्रक्रिया समयमै सुरु हुन सकेको थिएन । महाधिवेशनका कूल प्रतिनिधि संख्या ४ हजार २११ थियो भने विवादित मधेशबाट अन्तिम समयमा ५४० प्रतिनिधि रहेको विवरण सार्वजनिक भएको थियो ।

मधेशका नेताहरूले हरसम्भव सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन् । गत साता मधेशका केही नेताहरूको आन्तरिक छलफलमा प्रदेश र जिल्लालाई सहमतिमा ल्याउनुपर्ने विषय उठेको थियो । तर, प्रदेश सभापति यादव सबै ठाउँमा सर्वसम्मतको सम्भावना कम देख्छन् । सर्वसम्मत गर्दा पक्षधरताका साथ कसैलाई अघि बढाएको देखिने भएकाले निर्वाचन नै उपयुक्त विधि हुने उनको तर्क छ ।

‘अन्तिम उपाय त भोटिङ नै हो । त्यसो हुँदा कसले कसलाई बनायो भन्ने आरोप पनि लाग्दैन,’ यादवले भने । उनले आफू भने सोही पदमा दोहोरिन चाहेको बताए । प्रदेश सभापति पदमा निरन्तरताका लागि नै आफूले महाधिवेशनमा प्रतिस्पर्धा नगरेको उनको भनाइ छ ।

सभापति लामिछाने मधेश जाने बताए पनि मिति टुंगो लाग्न नसकेको, विवादित स्थानको अध्ययन गर्ने जिम्मेवारी पाएका ढकालले काम सुरु नगरेकाले छिट्टै अधिवेशन प्रक्रिया अघि बढ्न कठिन रहेको एक सांसदले बताए । चाडबाडको समय नजिकिँदै गरेकाले मंसिरतिर मात्रै मधेशको अधिवेशन सम्भव हुने उनको भनाइ छ ।