काठमाडौं, १० भदौ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।
मंगलबार स्थगित भएको सदनको बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ। बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शाहको प्रश्नोत्तर कार्यक्रम राखिएको छ।
प्रधानमन्त्री भएयता शाहले पहिलोपटक नियमअनुसार संसदको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लागेका हुन्। सांसदहरूले लामो समयदेखि प्रधानमन्त्रीलाई प्रश्न सोध्न खोजिरहेका थिए।
आजकै बैठकमा मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन (आव २०८१/८२) प्रस्तुत गर्ने कार्यसूचीसमेत छ। त्यस्तै, नेपाल र भारतबीचको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता पनि बैठकमा प्रस्तुत गरिने भएको छ।
यसैगरी, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति र प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने कार्यक्रम छ।







