१० भदौ, काठमाडौं । रसुवामा बुधबार आएको बाढीले नेपाल विद्युत प्राधिकरणका ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण जिल्ला र वरपरका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीले रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्रमा क्षति पुर्याएको छ। त्यस्तै, त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसन पनि बाढीको चपेटामा परेको छ। त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनासमेत बाढीबाट प्रभावित भएका छन्।
विद्युत उत्पादन, प्रसारण र वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा आपूर्ति अवरुद्ध भएको हो। प्राधिकरणले आपूर्ति सुचारु गर्न प्रयास जारी राखेको छ र नियमित नभएसम्म उपभोक्ताले धैर्य राख्न आग्रह गरेको छ।
बाढीले विद्युत संरचनामा मात्र नभई घर, सडक र पुललगायत भौतिक पूर्वाधारमा समेत उल्लेख्य क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राधिकरणले दिएको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ।
प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरेको छ। बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास र जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
त्यस्तै, आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्नसमेत प्राधिकरणले भनेको छ। यसअघि पनि रसुवामा बाढीका कारण जलविद्युत आयोजना तथा प्रसारण संरचनामा ठूलो क्षति पुगेको थियो। पछिल्लो बाढीले फेरि ऊर्जा पूर्वाधारमा असर पारेपछि उत्पादनदेखि प्रसारण र वितरणसम्मको विद्युत प्रणाली प्रभावित हुने जोखिम बढेको छ।







