मुख्य सामग्रीमा जानुहोस्

चाडपर्व खर्च अनिवार्य गर्न रोजगारदातालाई श्रम विभागको निर्देशन, नदिए कारबाहीको चेतावनी

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई चाडपर्व खर्च अनिवार्य उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ । कतिपय रोजगारदाताले उक्त सुविधा नदिएको गुनासो बढेपछि विभागले यस्तो निर्देशन जारी गरेको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
चाडपर्व खर्च अनिवार्य गर्न रोजगारदातालाई श्रम विभागको निर्देशन, नदिए कारबाहीको चेतावनी
Online Khabar

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ । कतिपय रोजगारदाताले यस्तो सुविधा नदिएको गुनासो बारम्बार आउने गरेकाले विभागले उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन जारी गरेको जनाएको छ ।

श्रम ऐन २०७४ को दफा ३७ मा प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम वर्षेनि चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ । सोही कानुनी प्रावधानको पालना गर्न विभागले रोजगारदातालाई ताकेता गरेको हो ।

उजुरी दिने व्यवस्था

कानुनबमोजिम पाउनुपर्ने सुविधा कुनै श्रमिक वा कामदारले नपाएको अवस्थामा आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्ने विभागले जनाएको छ । यसका लागि इमेलमार्फत् पनि उजुरी, गुनासो तथा सुझाव पठाउन सकिने भन्दै विभागले क्यूआर कोडकोसमेत व्यवस्था गरेको छ ।

विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार कतिपय रोजगारदाता तथा प्रतिष्ठानले चाडपर्व खर्च नदिएका घटना निरन्तर भेटिएका छन् । त्यस्ता प्रतिष्ठानलाई अनिवार्य रूपमा उक्त सुविधा उपलब्ध गराउन भनिएको र नदिनेमाथि श्रम ऐनबमोजिम कारबाही हुने विभागले स्पष्ट पारेको छ ।