कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० मा पर्ने कुतियाकवर बस्तीमा सडक पहुँच नभएकाले त्यहाँका किसानले खेतमा बाली लगाउन र उत्पादन बजारसम्म पुर्याउन दुवैतर्फ सास्ती खेप्नुपरेको छ।
पूर्वमा महाकाली नदी, उत्तरमा जोगबुढा नदी र पश्चिममा भारतीय सीमा जोडिएको उक्त बस्तीमा ४२ घरधुरी बसोबास गर्छन्। बासिन्दाको मुख्य पेसा तथा आयस्रोत खेतीपाती नै हो। बस्तीको करिब ५० बिघा जमिनमा अहिले धान र गहुँभन्दा अन्य बाली, विशेषतः बेसार र तरकारीखेतीतर्फ किसानको आकर्षण बढेको छ।
तर बस्तीमा सडक नपुगेकाले ट्र्याक्टरलगायत सवारीसाधन खेतसम्म पुग्न सक्दैनन्। स्थानीय टेकबहादुर सुनारका अनुसार खनजोतदेखि कृषि सामग्री ओसारपसारसम्मका काममा निकै मुस्किल पर्ने गरेको छ। नेपालतर्फबाट सडकको पहुँच नभएपछि खनजोत र थ्रेसिङका लागि भारततर्फबाट ट्र्याक्टर ल्याउँदा भारतीय सीमा सुरक्षाबलले जिल्ला प्रशासनको अनुमति खोज्ने गरेको उनको भनाइ छ।
जोगबुढा नदीमा रहेको झोलुङ्गे पुलबाट हिँडेर आवतजावत गर्न सकिए पनि धान, मकै र गहुँ खेतीका लागि ट्र्याक्टर तथा अन्य सवारीसाधन लैजान कठिन हुने उनले बताए। सुनारले यस वर्ष ६ कट्ठामा धान र १८ कट्ठामा बेसारखेती गर्दै आएका छन्।
अर्का स्थानीय मोतिराम सुनारले उत्पादित वस्तु बिक्री गर्न सडकको पहुँच आवश्यक रहेको बताए। बस्तीवासीको मुख्य माग जोगबुढा नदीमा पक्की पुल निर्माण रहेको उनको भनाइ छ। केही वर्षअघिसम्म यहाँको उत्पादन भारतीय बजारमा सहजै बिक्री हुने गरेको भए पनि अहिले भारतीय पक्षले कडाइ गरेपछि किसान मर्कामा परेको उनले बताए।
पक्की पुलको माग
धान र गहुँको तुलनामा बेसारबाट राम्रो आम्दानी हुने भएकाले पनि किसान यसतर्फ लागेका हुन्। स्थानीय खडक बुढाका अनुसार बेसारखेतीबाट वार्षिक रु एकदेखि डेढ लाखसम्म बचत हुने भए पनि सडकको अभावमा कृषि उपकरण प्रयोग गर्न पाइएको छैन। उनले १२ कट्ठामा बेसारखेती गर्दै आएका छन्।
गत वर्षसम्म नदीमा पानी घट्दा ट्र्याक्टर आउने गरेको तर अहिले पक्की तटबन्ध निर्माण भएपछि सो बाटो बन्द भएको उनले बताए। जोगबुढा र महाकाली नदीको बाढीबाट प्रभावित हुँदै आएको उक्त बस्ती तटबन्ध बनेपछि भने सुरक्षित बनेको छ र खेतीयोग्य जमिन पनि जोगिएको छ। यस वर्ष भारतीय पक्षले बेसार बिक्रीमा रोक लगाएपछि बजारको चिन्ता थपिएको उनको भनाइ छ। माटो राम्रो भएकाले उत्पादन राम्रो हुने तर सडक अभावमा खेती गर्न समस्या भइरहेको उनले बताए।
दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले तटबन्धले खेतीयोग्य जमिन बचाएको उल्लेख गर्दै कुतियाकवरका स्थानीयलाई खेतीपाती गर्न समस्या रहेको बताए। यसअघि भारतबाटै ट्र्याक्टर आएर खनजोत हुने गरेको तर नेपालतर्फबाट बाटो नभएको उनको भनाइ छ। समस्या समाधानका लागि आफू पहल गर्ने उनले बताए।
खेतीपातीमै निर्भर कुतियाकवरका किसानका लागि खेतसम्म कृषियन्त्र पुर्याउन सक्ने पूर्वाधार नहुँदा कृषि कार्यमा सास्ती बढ्दै गएको छ।







