चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द रहँदा सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपाली नागरिक तथा सुरक्षाकर्मीले खाद्यान्न, खानेपानी र स्वास्थ्य उपचारसम्मको चर्को अभाव भोग्नुपरेको छ। गत ९ गतेदेखि नाका बन्द हुँदा हिल्सामा दैनिक उपभोग्य वस्तुको अभाव दिनप्रतिदिन बढ्दै गएको छ।
हिल्सा सीमा सुरक्षा चौकी (बीओपी)का इन्स्पेक्टर केदार सापकोटाका अनुसार त्यहाँ लामो समयदेखि हरियो सागसब्जी भित्रिएको छैन भने माछामासुको आपूर्ति पूर्ण रूपमा रोकिएको छ। भण्डारणमा बाँकी रहेको दालको झोलसँगै खाना खानुपर्ने बाध्यता आएको उनले बताए।
खाद्यान्नको अभावसँगै हिल्सामा स्वास्थ्य उपचारको समस्या पनि गम्भीर बनेको छ। बिरामी पर्दा लैजान सकिने स्वास्थ्यचौकी वा मेडिकलसमेत नभएको र सशस्त्र प्रहरी बलका सिएमए तालिमप्राप्त एक जवानसँग रहेको सामान्य औषधि, विशेष गरी सिटामोलकै भरमा उपचार गर्नुपर्ने अवस्था रहेको सापकोटाले जानकारी दिए।
पैदल यात्रामा निस्किए नागरिक
नाका बन्द हुँदा हिल्सामा रहेका नेपालीको आवतजावत पनि प्रभावित बनेको थियो। चीनतर्फको नाका खुलेपछि बिहीबार १४४ नेपाली नागरिक नेपालतर्फ प्रवेश गरेका छन्, जसमध्ये केहीले हिउँ जमेको बाटो हुँदै फर्किनुपरेको छ। कतिपय पैदल मार्गमा अघि बढिसकेका छन् भने केहीले शुक्रबार बिहानै हिल्साबाट पैदल यात्रा सुरु गर्ने तयारी गरेको बताएका छन्। चीनबाट आज अबेर प्रवेश गरेकाहरू भोलि बिहानै हिँड्ने तयारीमा रहेको उनीहरूले बताए।
नेपालतर्फको सडकमा जमेको हिउँ पन्छाउने काम भने बुधबारबाट मात्रै सुरु भएको छ। नारा लेक क्षेत्रमा सडक सफा गर्न सानो स्काभेटर (भ्याकु) प्रयोग गरिएको छ, तर मेसिन सानो भएकाले दैनिक बढीमा एकदेखि दुई किलोमिटर मात्रै सडक सफा गर्न सकिने अवस्था रहेको छ।
सडक सफा गर्ने गति सुस्त हुँदा हिल्सामा रोकिएका नेपालीको चिन्ता थप बढेको छ। यही रफ्तारमा हिउँ पन्छाइए दसैँसम्म पनि घर पुग्न नसकिने भन्दै बिहीबार एक सयभन्दा बढी नेपालीले हिल्साबाट पैदलै यात्रा सुरु गरेका छन्।
चीनतर्फको नाका खुले पनि नेपालतर्फको सडक सहज रूपमा सञ्चालनमा आउन नसक्दा घर फर्किन चाहनेका लागि अर्को चुनौती थपिएको छ। स्थानीय तथा सुरक्षाकर्मीका अनुसार तत्काल प्रभावकारी ढङ्गले हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याउन सकिएन भने हिल्सामा खाद्यान्न र स्वास्थ्य सङ्कट अझ गहिरिन सक्छ।
हिल्सामा अहिले ३५ जना सशस्त्र प्रहरी, २० जना नेपाल प्रहरी, अध्यागमन कार्यालयका चार र भन्सारका चार गरी ६३ जना सरकारी कर्मचारी छन्। त्यहाँ केही स्थानीय नागरिकसमेत बसोबास गर्दै आएका छन्।







