मुख्य सामग्रीमा जानुहोस्

हिमपातले सडक अवरुद्ध हुँदा हुम्लाकी जटिल अवस्थाकी महिलाको सेना हेलिकोप्टरबाट उद्धार

पाठेघरमा समस्या देखिएपछि गाउँमै उपचार सम्भव नभएकी हुम्लाकी एक महिलालाई हिमपातका कारण सडक बन्द भएपछि हवाई मार्गबाट उद्धार गरिएको छ। गाउँपालिकाको पहल र जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टर परिचालन…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
हिमपातले सडक अवरुद्ध हुँदा हुम्लाकी जटिल अवस्थाकी महिलाको सेना हेलिकोप्टरबाट उद्धार
eKantipur

हिमपातका कारण सडक अवरुद्ध भएपछि हुम्लाको नाम्खा गाउँपालिका-५ की ३६ वर्षीया सोनाम ल्यामु तामाङलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको छ। जटिल स्वास्थ्य अवस्थामा रहेकी उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको गाउँपालिकाले जनाएको छ।

तामाङको पाठेघरमा समस्या देखा परेपछि गाउँमै उपचार सम्भव नभएकाले उनलाई जिल्ला बाहिर लैजानुपर्ने अवस्था आएको थियो। तर लगातारको हिमपातले सडक बन्द भएकाले स्थलमार्गबाट उनलाई लैजान सम्भव थिएन। त्यसपछि गाउँपालिकाको पहलमा हवाई उद्धारको व्यवस्था मिलाइएको हो।

गाउँपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टर परिचालन गरी तामाङको उद्धार गरिएको गाउँपालिकाले जानकारी दिएको छ। हेलिकोप्टरमार्फत उनलाई सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल ल्याइएको छ।

प्रदेश अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको गाउँपालिकाले बताएको छ।

पछिल्लो समय हुम्लामा हिमपात बढेसँगै सडक अवरुद्ध भएको गाउँपालिकाले जनाएको छ। यसका कारण दुर्गम बस्तीमा बस्ने बिरामीको उपचारका लागि आवतजावतमा कठिनाइ उत्पन्न भएको छ।