मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढी : उद्धार समन्वयका लागि गृह मन्त्रालयमा विशेष बैठक जारी

रसुवाको भोटेकोशी नदीमा आएको बाढीको उद्धार तथा राहतबारे गृह मन्त्रालयमा विशेष बैठक जारी छ । प्रधानमन्त्री बालेन शाहले पनि प्रधानमन्त्री कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भोटेकोशी बाढी : उद्धार समन्वयका लागि गृह मन्त्रालयमा विशेष बैठक जारी
Online Khabar

१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि उद्धार, खोज र राहतको समन्वयका लागि गृह मन्त्रालयमा विशेष बैठक जारी छ । बिहानदेखि नै प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिने विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ । यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पनि बैठक बसिरहेको छ ।

प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । यसअघि गृह मन्त्रालयमा विपद्बारे विशेष बैठक बसेको थियो, जसमा बाढी प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने कामबारे समीक्षा गरिएको थियो ।

गृह मन्त्रालयका अनुसार सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुई हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ । त्यस्तै निजी कम्पनीका हेलिकप्टरलाई पनि खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको छ ।

रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायत क्षेत्रमा आज बिहान बाढी आएलगत्तै सरकारले उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको हो । जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकिएको छ । साथै थप प्रभावित हुन सक्ने नागरिकलाई सुरक्षित स्थानतर्फ सर्न निरन्तर सूचना प्रवाह गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।

बाढीका कारण पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक र मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न/नगराउन पनि आग्रह गरिएको छ ।

सरोकारवाला निकायहरूले आफ्ना संयन्त्र परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई प्राथमिकता दिएका छन् । जिल्लास्थित विपद् प्राधिकरण सक्रिय बनेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र जिल्ला प्रशासनले पीडितको खोज तथा उद्धारलाई तीव्र बनाएका छन् । नेपाली सेनाले पनि आफ्नोतर्फबाट उद्धार तथा खोज कार्य अघि बढाएको छ ।