मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढीपछि गोरखामा आठ शव फेला, त्रिशूली किनारबाट सङ्कलन

भोटेकोशी नदीमा गएको बाढीपछि गोरखाको त्रिशूली नदी किनारमा आठ जनाको शव फेला परेको छ। बाढीले गोरखा र धादिङ जोड्ने दुई झोलुङ्गे पुल बगाएको छ। सहिदलखन–कुरिनटार जोड्ने पुल भने पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भोटेकोशी बाढीपछि गोरखामा आठ शव फेला, त्रिशूली किनारबाट सङ्कलन
Online Khabar

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीको असर गोरखा जिल्लासम्म पुगेको छ। त्रिशूली नदीको गोरखातर्फको बगरमा आठ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

फेला परेका शवमध्ये गण्डकी गाउँपालिका–८ धवादीघाटस्थित नदी किनारबाट एक पुरुषको शव भेटिएको छ। यस्तै, गण्डकी–६ भुम्लिचोक, गण्डकी–१ बुट्टार र गण्डकी–४ फेवाटारको नदी किनारबाट एक/एक जनाको शव फेला परेको छ। गण्डकी–७ ज्यामिरेघाटमा पनि एक पुरुषको शव भेटिएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले बताए।

यसैगरी, सहिदलखन गाउँपालिका–३ सिलिङटारस्थित नदी किनारबाट तीन पुरुषको शव फेला परेको छ। यी सबै शव त्रिशूली नदीको बगरबाट सङ्कलन गरिएको प्रहरीले जानकारी दिएको छ।

बाढीले बगायो दुई झोलुङ्गे पुल

बाढीका कारण गोरखालाई पृथ्वीराजमार्गसँग जोड्ने दुई झोलुङ्गे पुल बगाएको छ। गण्डकी गाउँपालिका–८ धवादीघाट र धादिङको चौकीटार जोड्ने झोलुङ्गे पुल तथा गण्डकी गाउँपालिका–७ को इटार र धादिङकै चौकीटार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो।

त्यस्तै, सहिदलखन गाउँपालिका–३ सिलिङटार र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल पूर्णरूपमा क्षतिग्रस्त भएको छ। धवादीघाटको पुलसँगै हिक्लुङघाट र पृथ्वीराजमार्गको फिस्लिङ पुल पनि क्षतिग्रस्त बनेका छन्। यसैगरी, बेनीघाट–सिउरेनटार जोड्ने मोटरेबल पुलमा आंशिक क्षति पुगेको सूचना अधिकारी श्रेष्ठले बताए।

जलविद्युत् आयोजनामा क्षति

बाढीको पानी गण्डकी गाउँपालिका–१ बुटारस्थित निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाभित्र समेत प्रवेश गरेको छ। आयोजनामा रहेका मजदुर र उपकरणलाई सुरक्षित स्थानमा सारिएको आयोजनाका निरञ्जन रेग्मीले जानकारी दिए।