भोटेकोशीमा आएको बाढीपछि उद्धारमा खटिएका एक हेलिकप्टर पाइलटले नदी किनाराका बस्तीहरू पूर्णरूपमा बगाएको बताएका छन्। कैलाश हेलिकप्टरका पाइलट निश्चल अधिकारी बिहानैदेखि प्रभावित क्षेत्रमा घाइतेको उद्धार गरिरहेका छन्। टिमुरे, धुन्चे, मैलुङ, स्याफ्रुबेशी र बेत्रावतीबाट उनले घाइतेलाई उद्धार गरेका छन्।
अधिकारीका अनुसार बिहान घाइते बोक्ने क्रममा कसैको हात भाँचिएको अवस्था थियो भने कसैलाई चोट लागेको थियो। माटोमा पुरिएकाहरूलाई निकाल्नुपरेको विषम परिस्थिति रहेको उनले सुनाए। उनले अहिलेसम्म धेरैको उद्धार गरिसकेको र केहीलाई शिक्षण अस्पताल पुर्याइएको जानकारी दिए।
बिहान गोसाइँकुण्ड गएका अधिकारी फर्किने क्रममा बाढी आएको सूचना पाएर उद्धारमा होमिएका हुन्। उनका अनुसार अहिले सडकमार्गबाट प्रभावित क्षेत्रमा पुग्ने अवस्था छैन। देख्दासम्म धुन्चे भने सुरक्षित देखिएको उनले बताए। दिउँसो ३ बजेसम्म तीन पटक उद्धारका लागि प्रभावित क्षेत्र पुगिसकेको उनले जानकारी दिए।
पहिले बाक्लो बस्ती रहेको क्षेत्र अहिले खण्डहरमा परिणत भएको अधिकारीको भनाइ छ। उनका अनुसार गाउँहरू कतै पनि बाँकी छैनन् र जलविद्युत् आयोजनाहरूसमेत बाढीले बगाइसकेको छ। रसुवागढी क्षेत्र पूरै बगाएकाले त्यहाँ सडकमार्गबाट जाने अवस्था नरहेको उनले बताए। चीनको सीमाबाट नेपालतर्फ भन्सार कार्यालय, गाडी पार्किङलगायत संरचना प्रभावित भएका छन्।
कैलाश जाने मानिसहरू बस्ने होटलहरूसमेत बाढीले बगाएको अधिकारीले सुनाए। स्याफ्रुबेशी ठूलो गाउँ भए पनि त्यहाँका बस्ती अहिले बाँकी नरहेको उनको भनाइ छ। त्यहाँ निर्माणाधीन ठूलो जलविद्युत् आयोजना र माथि चिलिमे जलविद्युत् आयोजना पनि बगाएको उनले बताए।
खोलाको सतहभन्दा करिब २७० फिट माथिसम्म पानी बगेको र उद्धारका लागि हेलिप्याडसमेत नभएको अधिकारीले जानकारी दिए। उनका अनुसार बारीका कान्लामा हेलिकप्टर अवतरण गराएर मानिसहरूको उद्धार गरिरहेका छन्। बढीभन्दा बढी मानिसलाई उद्धार गर्नका लागि पुनः प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्न लागेको उनले बताए।







