मुख्य सामग्रीमा जानुहोस्

बाढी उद्धार र प्राथमिक उपचार: चिकित्सकको सुझाव, पहिले आफ्नो सुरक्षा

बाढीपीडितको उद्धार गर्दा सबैभन्दा पहिले उद्धारकर्ताको आफ्नै सुरक्षा सुनिश्चित गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्। घाइते भेटिएमा रक्तस्राव नियन्त्रण, भाँचिएको अंग स्थिर राख्ने र टाउको तथा मेरुदण्डको चोटमा विशेष सावधानी…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बाढी उद्धार र प्राथमिक उपचार: चिकित्सकको सुझाव, पहिले आफ्नो सुरक्षा
Online Khabar

तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोटसहितका नदी आसपासका क्षेत्रमा जनधनको क्षति भइरहेको छ। भोटेकोशी र त्रिशूली नदीको बहाव बढेपछि बस्ती, सडक, पुल तथा अन्य संरचनामा क्षति पुगेको छ भने जोखिममा परेकाको उद्धार र विस्थापितलाई सुरक्षित स्थानमा सार्ने काम जारी छ।

यस्तो बेला घटनास्थलमा सर्वसाधारणले पनि आफैं उद्धार गर्ने प्रयास गर्न सक्ने भएकाले चिकित्सकहरूले सुरक्षाका सर्तहरूबारे सचेत गराएका छन्। उनीहरूका अनुसार उद्धार गर्न जाने व्यक्ति स्वयं सुरक्षित नभएसम्म अरूलाई सहयोग गर्न जानु जोखिमपूर्ण हुन्छ।

उद्धार अघि जोखिम मूल्यांकन

वीर अस्पतालका आकस्मिक कक्षका पूर्वप्रमुख डा. श्रीराम तिवारी उद्धारमा जानुअघि घटनास्थलको जोखिम मूल्यांकन गर्नुपर्ने बताउँछन्। पानीको बहाव घटेको छ कि छैन, जमिन भासिने अवस्था छ कि छैन र भवन तथा संरचना भत्किने अवस्थामा छन् कि छैनन् भनेर यकिन गरेर मात्र उद्धारमा जानुपर्ने उनको भनाइ छ। उनका अनुसार बाढीको पानी बाहिरबाट कम गहिरो देखिए पनि भित्र तीव्र बहाव, विद्युतका तार वा भत्किन लागेका संरचनाजस्ता जोखिम लुकेको हुनसक्छ।

एक जनालाई बचाउन जाने क्रममा उद्धारकर्ता नै दुर्घटनामा परे समस्या झन् बढ्ने उनले बताए। त्यसैले घटनास्थल सुरक्षित भएपछि मात्र उद्धार गर्ने र सकेसम्म सुरक्षाकर्मी तथा तालिमप्राप्त टोलीलाई खबर गरेर मात्र अघि बढ्नुपर्ने सुझाव उनको छ।

डुबेको व्यक्तिलाई कसरी उद्धार गर्ने ?

पानीमा डुबेको व्यक्ति देखिएमा आफैं पानीभित्र पस्नुभन्दा तालिमप्राप्त गोताखोर वा उद्धार टोलीलाई जिम्मा दिनु सुरक्षित हुन्छ। पानीभित्र उद्धारका लागि चाहिने उपकरण र तालिम नभएकाले त्यस्तो प्रयास गर्न नहुने चिकित्सकहरू बताउँछन्। सुरक्षित स्थानबाट उद्धार टोलीलाई खबर गर्ने, घटनास्थलको जानकारी दिने र घाइतेलाई अस्पताल पुर्‍याउने व्यवस्था मिलाउन भने सहयोग गर्न सकिन्छ।

निजामति अस्पतालमा कार्यरत नशा तथा हाडजोर्नी रोग विशेषज्ञ कन्सल्टेन्ट डा. नविन पौडेलका अनुसार डुबेको व्यक्तिलाई पानीबाट निकालेपछि सबैभन्दा पहिले नाडीको चाल र सास फेर्ने अवस्था जाँच्नुपर्छ। मुखमा केही अड्किएको छ भने निकाल्न सकिन्छ, तर तालिम नभएको व्यक्तिले जथाभावी उपचार गर्ने वा शरीर चलाउने काम गर्नु हुँदैन।

घाइतेलाई अस्पतालसम्म कसरी लैजाने ?

बाढीमा लडेर, बगेर वा कतै ठोक्किएर हातखुट्टा भाँचिन सक्ने भएकाले त्यस्तो अवस्थामा चोट लागेको अंग चलाएर अस्पताल लैजानु नहुने डा. पौडेलको सुझाव छ। भाँचिएको शंका भए कार्डबोर्ड, पाता वा बोर्डजस्ता उपलब्ध सामग्रीमा हातखुट्टा राखेर नचल्ने गरी बाँध्नुपर्ने उनले बताए। यसको उद्देश्य अस्पताल पुर्‍याउँदासम्म थप क्षति हुन नदिनु हो।

टाउको र घाँटीमा चोटको शंका भए व्यक्तिलाई अनावश्यक उठाउनु वा हिँडाउनु हुँदैन। बेहोस भएको, असामान्य व्यवहार देखिएको वा शरीरको भाग चलाउन समस्या भएको अवस्थामा शरीरलाई सीधा र स्थिर राखेर स्वास्थ्यकर्मी भएको ठाउँमा लैजानुपर्ने उनको भनाइ छ। मेरुदण्डमा चोट लागेको शंका भए हातखुट्टा तानेर उठाउने काम नगर्न पनि उनले आग्रह गरे। यस्तो अवस्थामा अत्यन्त सावधानीपूर्वक कडा समतल सतहमा शरीरलाई एउटै अवस्थामा राखेर सार्नुपर्ने उनले बताए।

धेरै रगत बगेको अवस्थामा भने पहिलो प्राथमिकता रक्तस्राव रोक्नु र बिरामीलाई छिटो नजिकको स्वास्थ्य संस्था पुर्‍याउनु रहेको ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा. विपिन नेपालले बताए। घाउमा कपडा वा गज राखेर निरन्तर दबाब दिँदा रक्तस्राव कम गर्न सकिन्छ। कपडा भिज्दै गए माथिबाट अर्को सफा कपडा थपेर दबाब दिइरहनु उपयुक्त हुन्छ। घाउभित्र गाडिएको वस्तु भए आफैं निकाल्न नहुने र पट्टी बाँध्दा रक्तसञ्चारमा असर नपर्ने गरी स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्र गर्नुपर्ने उनको सुझाव छ।

अस्पताल र सर्वसाधारणको तयारी

बाढीका कारण सडक र पुलमा क्षति पुगेकाले एम्बुलेन्सबाट घाइते ल्याउन कठिन हुन सक्ने डा. तिवारीले बताए। यस्तो अवस्थामा स्थानीय स्वास्थ्य संस्था, अस्पताल, प्रशासन र उद्धार टोलीबीच समन्वय आवश्यक हुन्छ। कतिपय अवस्थामा हेलिकप्टरसमेत प्रयोग गर्नुपर्ने हुन सक्ने भएकाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रशासनसँग हवाई मार्गको समन्वय गर्नुपर्ने उनको भनाइ छ।

त्रिशूली, रसुवा र काठमाडौंलगायत क्षेत्रका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र अस्पतालहरू आकस्मिक उपचारका लागि तयार रहेको उनले जानकारी दिए। अस्पतालमा बिरामी आएपछि गम्भीरताका आधारमा उपचारको प्राथमिकता निर्धारण गरिने र अत्यधिक रक्तस्राव, सास फेर्न कठिनाइ, बेहोस अवस्था तथा टाउको, छाती वा पेटमा गम्भीर चोट भएकालाई तत्काल उपचार गर्ने व्यवस्था मिलाइएको उनले बताए।

त्यसैगरी, बाढीको जोखिम भएका क्षेत्रका नागरिकले नदीको बहाव हेर्न वा भिडियो बनाउन जोखिमपूर्ण स्थानमा जानु नहुने चिकित्सकहरूको सुझाव छ। पानी घटेको जस्तो देखिए पनि अचानक बहाव बढ्न सक्ने भएकाले प्रशासन तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्नुपर्छ। बालबालिका, वृद्धवृद्धा, अशक्त र बिरामीलाई सुरक्षित स्थानमा सार्दा विशेष प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ।

उद्धार भनेको पानीबाट निकाल्नु मात्र नभई घाइतेको अवस्था बिग्रन नदिनु, रक्तस्राव नियन्त्रण गर्नु, भाँचिएको अंग स्थिर राख्नु र सकेसम्म छिटो स्वास्थ्यकर्मीसम्म पुर्‍याउनु पनि भएको चिकित्सकहरू बताउँछन्। अरूलाई बचाउन जाँदा आफ्नै ज्यान जोखिममा पार्नु नहुने उनीहरूको सुझाव छ।