मुख्य सामग्रीमा जानुहोस्

खेलविहीन नेपाली फुटबल : खेलाडी, प्रशिक्षक र रेफ्रीमाथि कस्तो असर ?

फिफाले एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल खेलविहीन बनेको छ। राष्ट्रिय टोलीका खेलाडीदेखि प्रशिक्षक र रेफ्रीसम्म निष्क्रिय छन्। लामो निष्क्रियताले खेलाडीको फिटनेस, मानसिक स्वास्थ्य र रेफ्रीको निर्णय क्षमतामा समेत असर…

विश्वपत्र संवाददाता

· ४ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
खेलविहीन नेपाली फुटबल : खेलाडी, प्रशिक्षक र रेफ्रीमाथि कस्तो असर ?
Online Khabar

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेयता नेपाली फुटबलको मैदानमा कुनै पनि खेल हुन सकेको छैन। नियमित अभ्याससमेत ठप्प छ। यसले गर्दा नेपाली फुटबल शून्यतामा मात्र नभई ‘माइनस’को अवस्थामा पुगेको बताइन्छ।

नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू अहिले बंगलादेशमा हुने साफ च्याम्पियनसिपलगायत अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्नुपर्ने समयमा पूर्ण रूपमा निष्क्रिय छन्। निलम्बनपछि उनीहरूले न त राष्ट्रिय टोलीका लागि खेल्न पाएका छन्, न क्लबका लागि। केही दिनअघि खेलाडीहरूले सार्वजनिक भिडियोमार्फत नेपाली फुटबल बचाउन अपिल गरेका थिए। तर मैदान फर्कने कुनै टुङ्गो छैन।

खेल नहुँदा खेलाडी मात्र प्रभावित छैनन्। प्रशिक्षक, रेफ्री लगायत फुटबलसँग जोडिएका सबैजसो व्यक्ति बेरोजगारजस्तै बनेका छन्। राष्ट्रिय टोलीका खेलाडीहरूको दैनिकी नै बदलिएको छ। कतिपय खेलाडी फुटबल एकेडेमी चलाउनेमा व्यस्त छन् भने कतिपय अन्य विकल्प खोज्न बाध्य छन्।

महिला टोलीका करिब एक दर्जन खेलाडी विदेशी लिगमा खेलिरहेका छन्। पुरुषतर्फ केही खेलाडी भुटान र बंगलादेशमा खेलिरहेका छन् भने केही भारतका स्थानीयस्तरका खेलमा सहभागी छन्। यद्यपि, यी सबै अवसर भन्दा पनि बाध्यताका रूपमा लिइएको देखिन्छ।

नियमित प्रतियोगिता नहुँदा खेलाडीहरूले अनुभव र क्षमता बढाउने अवसर गुमाइरहेका छन्। महिला फुटबलका लागि यो अवस्था झन् गम्भीर छ। महिला टोलीकी एक सदस्यका अनुसार पछिल्लो समय नेपाली महिला फुटबलमा राम्रो सुधार आएको थियो र छोरीहरू फुटबलबाटै भविष्य बनाउन सक्छन् भन्ने विश्वास परिवारमा बढ्दै गएको थियो। तर घरेलु प्रतियोगिता लामो समय रोकिए विगतकै अवस्थामा फर्किनुपर्ने खतरा छ। उनका अनुसार ‘छोरीले फुटबल खेलेर के हुन्छ ?’ भन्ने सोच फेरि बलियो हुँदा नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीहरू खेलमा आउनबाट वञ्चित हुन सक्छन्।

उनी फुटबललाई प्यासन, सपना र उत्सवका रूपमा लिन्छिन्। राष्ट्रिय टोली, क्लब वा टोलीका लागि मैदानमा उत्रिनु नै खेलाडीको सबैभन्दा ठूलो खुसी भएको उनको भनाइ छ। त्यसैले निलम्बनमा कसलाई दोष दिने भन्दा पनि सबै पक्ष मिलेर सकेसम्म चाँडो घरेलु फुटबल सञ्चालनको वातावरण बनाउनुपर्नेमा उनी जोड दिन्छिन्।

फिटनेस र मानसिक स्वास्थ्यमा पर्ने असर

लामो निष्क्रियताले खेलाडीको शारीरिक र मानसिक अवस्थामा गम्भीर असर पुर्‍याउँछ। फिजियोथेरापिस्ट सुरज भुसालका अनुसार यस्तो बेलामा मुटु तथा रक्तसञ्चार प्रणालीको सहनशीलता घट्छ र मांसपेशीको लचिलोपन, शक्ति द्रुत गतिमा ह्रास हुन्छ। लामो विश्रामपछि मैदान फर्कँदा चोटपटकको जोखिम पनि उल्लेख्य रूपमा बढ्ने उनले बताए। अनुसन्धानका अनुसार १ देखि ३ हप्तासम्मको निष्क्रियतासँग खेलकुदका करिब ३० प्रतिशत चोटपटक जोडिएका हुन्छन्।

प्रशिक्षण छाडेको करिब दुई हप्तापछि कोषिकाहरूमा हुने माइटोकोन्ड्रियल गतिविधि अर्थात् ऊर्जा उत्पादन क्षमता तीव्र रूपमा घट्न थाल्छ। फुटबल उच्च तीव्रताको खेल भएकाले यसका लागि एरोबिक र एनारोबिक दुवै प्रक्रियाबाट ऊर्जा चाहिन्छ। खेलाडीको एरोबिक क्षमता प्रशिक्षण रोकेको केही दिनभित्रै ५ देखि १२ प्रतिशतसम्म घट्न सक्ने भुसाल बताउँछन्। यसले शरीरमा अक्सिजन लिने, पुर्‍याउने र प्रयोग गर्ने क्षमतालाई कमजोर बनाउँछ, जसका कारण खेलाडी छिटो थाक्ने र सास फुल्ने समस्या देखिन्छ।

दीर्घकालीन निष्क्रियतालाई बेवास्ता गर्दा उच्च रक्तचाप, सुगर र मुटुसम्बन्धी सरुवा नहुने रोगको जोखिम बढ्ने पनि भुसालको भनाइ छ। नियमित प्रशिक्षण र प्रदर्शन नै खेलाडीको कर्तव्य भएकाले यो दिनचर्या बिथोलिँदा मानसिक स्वास्थ्यमा समेत असर पर्ने उनले स्पष्ट पारेका छन्।

क्लिनिकल साइकोलोजिस्ट हशाना श्रेष्ठका अनुसार खेलाडीका लागि फुटबल उनीहरूको पहिचानकै महत्त्वपूर्ण हिस्सा बनिसकेको हुन्छ। लामो समय खेलबाट टाढा रहँदा उनीहरूमा पहिचानको संकट देखिन सक्छ। खेलाडीको प्राथमिकता खेल नै हुने भएकाले अरू कारण सिर्जना भएको अनिश्चितताले चिन्ता बढाउन सक्ने उनले बताइन्। खेलबाहेक अन्य विकल्प नभएका खेलाडी निराश हुन सक्ने र त्यसले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने उनको भनाइ छ।

प्रशिक्षक र रेफ्रीमाथि समेत प्रभाव

लामो निष्क्रियताले खेलाडी मात्र नभई प्रशिक्षक र रेफ्रीहरूलाई पनि असर गर्ने महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी नवीन न्यौपाने बताउँछन्। यस्तो विश्रामले संलग्न सबैलाई शारीरिक, मानसिक, आर्थिक र भावनात्मक रूपमा क्षति पुर्‍याउँछ। सक्रिय अभ्यास नहुँदा कोचिङ सीपमा ह्रास आउने र फुटबल टिमवर्कमा निर्भर हुने भएकाले लामो विश्रामले खेलाडीबीचको समन्वय बिगार्ने उनको भनाइ छ। त्यसको असर समग्र टोलीको प्रदर्शनमा देखिने उनले बताए।

निलम्बन कायम रहे नेपाली रेफ्रीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत प्रतिबन्धको सामना गर्नुपर्नेछ। एसियाली फुटबल महासंघ (एएफसी) ले नयाँ एलिट रेफ्रीका लागि हरेक सेप्टेम्बरमा वार्षिक रेफ्री कोर्स आयोजना गर्छ। निलम्बन नहटे नेपाली रेफ्रीहरू त्यसबाट वञ्चित हुने रेफ्री प्रकाशनाथ श्रेष्ठले बताए। यस वर्ष नेपालका दुई नयाँ एलिट रेफ्री मलेसियामा हुने सो कोर्समा सहभागी हुने तय भए पनि वर्तमान परिस्थितिका कारण उनीहरूको सहभागिता अनिश्चित रहेको छ।

नेपाली रेफ्री प्रज्वल क्षेत्रीले पछिल्लो साफ खेलको फाइनलमा रेफ्रीको भूमिका निभाएका थिए। निलम्बन फुकुवा नभए स्थानीय रेफ्रीहरू आगामी क्षेत्रीय प्रतियोगितामा सहभागी हुन नपाउने अवस्था छ।

लामो समय खेल सञ्चालनबाट टाढा रहँदा रेफ्रीको निर्णय क्षमतामा पनि असर पर्ने श्रेष्ठको भनाइ छ। कोभिड-१९ महामारीपछि लामो विश्राम लिएर मैदान फर्कँदा रेफ्रीहरूको निर्णय गर्ने क्षमता प्रभावित भएको उनले स्मरण गरे। महामारीका बेला भएका अध्ययनले पनि लामो अवरोधले रेफ्रीहरूको तयारी र निर्णय लिने तालिममा कमी ल्याएको देखाएको छ।